Ads

रास्वपाले फेर्‍यो नतिजा: पूजा बास्तोला भित्रिए, सोम शर्मा बाहिरिए


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको नतिजामा संशोधन गर्दै यसअघि विजयी घोषित दुई उम्मेदवारलाई हटाएर नयाँ दुई जनालाई निर्वाचित घोषणा गरेको छ।

केन्द्रीय सदस्य पदकी उम्मेदवार पूजा बास्तोलाले मतपरिणाममा गडबडी भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि विवाद सतहमा आएको थियो। आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवारलाई विजयी घोषणा गरिएको उनको दाबी आयोगले सही ठहर गरेको छ।

आयोगले नतिजा सार्वजनिक गर्ने क्रममा प्राविधिक त्रुटि भएको स्वीकार गर्दै गण्डकी प्रदेशतर्फको केन्द्रीय सदस्यमा बास्तोलालाई निर्वाचित घोषणा गरेको छ। यसअघि सो पदमा विजयी घोषित गण्डकीका सोम शर्मा अब केन्द्रीय समितिबाट बाहिरिएका छन्। शर्मा बागलुङ–२ बाट निर्वाचित सांसदसमेत हुन्।

त्यसैगरी जनजाति क्लस्टरतर्फ पनि नतिजा फेरबदल गरिएको छ। प्रारम्भिक नतिजामा विजयी घोषित कृष्णमान श्रेष्ठको स्थानमा ध्रुव थापामगरलाई निर्वाचित घोषणा गरिएको छ। उम्मेदवारी दर्ताका क्रममा पेश गरिएका कागजात तथा विवरण पुनः परीक्षण गर्दा थापामगर नै योग्य र निर्वाचित उम्मेदवार रहेको निष्कर्षमा आयोग पुगेको जनाएको छ।

महाधिवेशनको नतिजा सार्वजनिक भएको केही समयमै भएको यो संशोधनले रास्वपाको निर्वाचन व्यवस्थापन र मतगणना प्रक्रियामाथि प्रश्न उठाएको छ।

Ads

सम्बन्धित पोष्टहरू