परराष्ट्रमन्त्री शिशिर खनाल ले नेपालको कूटनीति अब परम्परागत राजनीतिक सम्बन्धमा मात्र सीमित नरही आर्थिक रूपान्तरणको प्रमुख माध्यम बन्नुपर्ने बताएका छन्। उनले परराष्ट्र नीतिको अन्तिम उद्देश्य जनताको समृद्धि, कल्याण र राष्ट्रिय आकाङ्क्षाको सेवा गर्नु रहेको स्पष्ट पारे।
परराष्ट्र मन्त्रालयद्वारा आयोजित ‘प्रा. यदुनाथ खनाल व्याख्यान शृङ्खला’को पाँचौँ संस्करणमा बोल्दै मन्त्री खनालले वर्तमान सरकारले परिणाममुखी विकास कूटनीतिलाई प्राथमिकतामा राखेको बताए। विदेशस्थित नेपाली नियोगहरूलाई व्यापार प्रवर्द्धन, लगानी आकर्षण, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारमा केन्द्रित गरिएको उनको भनाइ थियो।
विश्व राजनीतिमा प्रमुख शक्तिहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै उनले आर्थिक साधन, आपूर्ति शृङ्खला र रणनीतिक पूर्वाधारले अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूप परिवर्तन गरिरहेको बताए। कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र र उदीयमान प्रविधिहरूले विश्वव्यापी शक्ति सन्तुलन र अवसरको वितरणलाई पुनर्परिभाषित गरिरहेको उनको विश्लेषण थियो।
खनालले बहुपक्षीय प्रणाली अहिले दबाबमा परे पनि सहकार्य, प्रविधि साझेदारी र आर्थिक साझेदारीका नयाँ अवसरहरू खुल्दै गएको बताए। नेपालले यस्ता परिवर्तनलाई आत्मविश्वास, स्पष्टता र विवेकपूर्ण ढंगले उपयोग गर्नुपर्नेमा उनले जोड दिए।
परराष्ट्र नीतिको आधारभूत सिद्धान्तबारे बोल्दै उनले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील, असंलग्नता र शान्तिपूर्ण सहअस्तित्वप्रति प्रतिबद्ध रहेको बताए। असंलग्नता निष्क्रियता नभई राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र निर्णय गर्ने क्षमता भएको सक्रिय कूटनीतिक दृष्टिकोण भएको उनको भनाइ थियो।
युवापुस्ताले अवसर, परिणाम र जवाफदेही शासनको अपेक्षा गरिरहेको उल्लेख गर्दै मन्त्री खनालले परराष्ट्र नीतिले अब प्रत्यक्ष रूपमा आर्थिक विकास र रोजगारी सिर्जनासँग जोडिनुपर्ने बताए। सरकारले सुशासन र तीव्र आर्थिक वृद्धिलाई आफ्नो मुख्य प्राथमिकता बनाएको पनि उनले जानकारी दिए।
भूराजनीतिक बहसतर्फ संकेत गर्दै उनले नेपालले प्रत्येक विषयलाई केवल भूराजनीतिक चस्माबाट मात्र हेर्न नहुने चेतावनी दिए। “अत्यधिक शंका र सङ्कीर्ण व्याख्याले विकास तथा सहकार्यका वैध अवसरहरू गुम्न सक्छन्,” उनले भने।
नेपालको भौगोलिक अवस्थिति सीमितता मात्र नभई व्यापार, लगानी, सम्पर्क सञ्जाल र क्षेत्रीय सहकार्यको महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले यही सोचका आधारमा छिमेकी मुलुकहरूसँग सम्बन्ध विस्तार भइरहेको बताए। भारत र चीनका आफ्नो हालैका भ्रमणहरू पनि व्यावहारिक सहकार्य र पारस्परिक हितमा केन्द्रित रहेको उनले स्पष्ट पारे।
विदेशमा रहेका नेपालीहरूको योगदानको प्रशंसा गर्दै मन्त्री खनालले उनीहरूको सुरक्षा, सम्मान र कल्याण सरकारको सर्वोच्च प्राथमिकतामध्ये एक रहेको बताए। लाखौँ नेपालीले विदेशमा श्रम, सीप र लगानीमार्फत नेपाल र आफू कार्यरत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको उनको भनाइ थियो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले ‘नेपालको परराष्ट्र नीतिः भूराजनीतिक तथा भूआर्थिक प्रवृत्तिहरूबीच मार्गनिर्देशन’ विषयमा मुख्य वक्तव्य प्रस्तुत गर्दै बदलिँदो विश्व व्यवस्थाबीच नेपालले अवसर र चुनौती दुवैलाई सन्तुलित ढंगले व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस्