Ads

गोल्डेन बुटमा मेसी र एम्बाप्पेको महाभिडन्त: कसले मार्ला बाजी ?


फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेश गरेसँगै सर्वाधिक गोलकर्तालाई प्रदान गरिने प्रतिष्ठित ‘गोल्डेन बुट’ को प्रतिस्पर्धा झन् रोमाञ्चक र गणितीय मोडमा पुगेको छ।

यसपटक अर्जेन्टिनाका कप्तान लियोनेल मेसी र फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेबीच यो अवार्डका लागि कडा टक्कर देखिएको छ, जसले विश्व फुटबलकै ध्यान केन्द्रित गरेको छ। हाल फ्रान्सेली फरवार्ड एम्बाप्पे ६ गोल र २ असिस्टसहित यो दौडको शीर्ष स्थानमा छन् भने मेसीले पनि ६ गोल नै गरेर उनलाई कडा चुनौती दिइरहेका छन्।

यद्यपि, मेसीले अहिलेसम्म कुनै असिस्ट नगरेका कारण फिफाको नियमअनुसार एम्बाप्पे प्राविधिक रूपमा अगाडि छन्; किनकि गोल संख्या बराबर भएमा बढी असिस्ट गर्ने र त्यो पनि बराबर भएमा मैदानमा कम समय बिताउने खेलाडीलाई गोल्डेन बुट विजेता घोषणा गरिने व्यवस्था छ। यस दौडमा नर्वेका स्ट्राइकर अर्लिङ हालान्ड ५ गोलसहित तेस्रो स्थानमा छन् भने फ्रान्सका ओसमान डेम्बेले ४ गोल र २ असिस्ट तथा ब्राजिलका भिनिसियस जुनियर ४ गोल र १ असिस्टसहित उपाधिको दाबेदारीमा कायम छन्।

सन् २०२२ को विश्वकपमा ८ गोल गर्दै गोल्डेन बुट जितेका वर्तमान विजेता एम्बाप्पेसंगै इंग्ल्यान्डका ह्यारी केन (२०१८ का विजेता) र कोलम्बियाका जेम्स रोड्रिगेज (२०१४ का विजेता) यसपटक दोस्रो पटक यो ऐतिहासिक सम्मान जित्ने दाउमा छन्।

विश्वकपको इतिहासलाई नियाल्दा एउटै संस्करणमा सर्वाधिक १३ गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फन्टेन (१९५८) को नाममा छ भने हंगेरीका स्यान्डोर कोसिसले ११ गोल (१९५४) र पश्चिम जर्मनीका गर्ड मुलरले १० गोल (१९७०) गरेका थिए। यसका साथै, विश्वकप इतिहासमै सर्वकालीन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा लियोनेल मेसी १९ गोलसहित शीर्ष स्थानमा छन् भने उनका निकटतम प्रतिस्पर्धी किलियन एम्बाप्पे १८ गोलसहित दोस्रो स्थानमा रहँदै जर्मनीका मिरोस्लाभ क्लोज (१६ गोल) र ब्राजिलका रोनाल्डो नाजारियो (१५ गोल) भन्दा अगाडि निकलिसकेका छन्।

नकआउट चरणका खेलहरू सुरु भएसँगै मेसी र एम्बाप्पेबीचको यो व्यक्तिगत र ऐतिहासिक भिडन्त झन् तीव्र हुने निश्चित छ र अबका खेलहरूले नै यो बहुप्रतिष्ठित गोल्डेन बुट कसको पोल्टामा जान्छ भन्ने कुराको अन्तिम फैसला गर्नेछन्।

Ads

सम्बन्धित पोष्टहरू