Ads

पासपोर्ट छपाइबारे जर्मन दूतावासले दियो प्रस्टीकरण


काठमाडौंस्थित जर्मन दूतावासले नेपालको पासपोर्ट छपाइ प्रक्रियासम्बन्धी विषयमा बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई ‘समन’ गरिएको भन्ने समाचार गलत र भ्रामक रहेको जनाएको छ।

दूतावासले बुधबार जारी गरेको स्पष्टीकरणमा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत (चार्ज–डे अफेयर्स) लाई सामान्य कूटनीतिक संवादका लागि निमन्त्रणा गरिएको स्पष्ट पार्दै सोधपुछ वा चेतावनी दिन ‘समन’ नगरिएको उल्लेख गरेको छ।

दूतावासका अनुसार कूटनीतिक अभ्यासमा ‘निमन्त्रणा’ र ‘समन’ बीच महत्वपूर्ण अन्तर हुन्छ। सामान्य भेटघाट, छलफल वा जानकारी आदानप्रदानका लागि निमन्त्रणा गरिनु नियमित प्रक्रिया भए पनि ‘समन’ भने विशेष सन्दर्भमा औपचारिक रूपमा स्पष्टीकरण माग्ने वा असन्तुष्टि जनाउने कूटनीतिक कदम हो।

‘सुन्दा सानो भिन्नता जस्तो लाग्न सक्छ, तर कूटनीतिमा यसको ठूलो महत्व हुन्छ,’ दूतावासले भनेको छ। साथै, भेटका क्रममा नेपाली कूटनीतिज्ञलाई कुनै विरोधपत्र (प्रोटेस्ट नोट) वा अन्य औपचारिक कागजात हस्तान्तरण नगरिएको पनि स्पष्ट गरिएको छ।

दूतावासले अदालतमा विचाराधीन मुद्दासँग सम्बन्धित कुनै सम्भावित परिणामबारे चेतावनी दिइएको भन्ने दाबीसमेत अस्वीकार गरेको छ।

‘न्यायपालिकाको स्वतन्त्रता जर्मनीको संविधानले सुनिश्चित गरेको आधारभूत सिद्धान्त हो, जसलाई हामी पूर्ण सम्मान गर्छौं,’ दूतावासको वक्तव्यमा भनिएको छ। ‘दूतावासले अदालतमा विचाराधीन मुद्दाबारे टिप्पणी गर्दैन, र यस विषयमा पनि हामीले कुनै टिप्पणी गरेका छैनौँ।’

जर्मन दूतावासको यो स्पष्टीकरण पासपोर्ट छपाइ प्रक्रियासँग जोडिएको विषयमा जर्मनीले नेपालमाथि दबाब दिएको वा नेपाली कूटनीतिज्ञलाई ‘समन’ गरेको भन्ने चर्चाबीच आएको हो।

Ads

सम्बन्धित पोष्टहरू