कप्तान ह्यारी केनको दुई गोल प्रेरित जादुमयी प्रदर्शनको मद्दतले इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ। एटलान्टामा भएको अत्यन्तै रोमाञ्चक र श्वास रोकिने प्रतिस्पर्धामा इंग्ल्यान्डले डीआर कंगोलाई २–१ गोल अन्तरले पराजित गर्यो।
खेल सकिन १५ मिनेट बाँकी रहँदासम्म प्रतियोगिताबाटै बाहिरिने सङ्घारमा पुगेको इंग्ल्यान्डका लागि कप्तान केन संकटमोचक बन्दै उद्धार गरे। खेलको सुरुआतमै डीआर कंगोका ब्रायन सिपेङ्गाले गोल गर्दै टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए, जसलाई कंगोले लामो समयसम्म जोगाएर राखेको थियो।
प्रशिक्षक थोमस टुचेलको टोलीले लगातार आक्रमण बुने पनि कंगोका गोलरक्षक लियोनाल म्पासीले उत्कृष्ट बचाउ गर्दै इंग्ल्यान्डलाई बारम्बार निराश बनाएका थिए। पहिलो हाफको इन्जुरी समयमा डीआर कंगोका योआने विस्साको प्रहार पोस्टमा लागेर फर्किएपछि कंगोले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमाएको थियो, जुन पछि खेलको मुख्य टर्निङ प्वाइन्ट बन्यो।
खेलको ७५औँ मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी गोर्डनको आकर्षक क्रसमा केनले शक्तिशाली हेडमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १–१ को बराबरीमा ल्याए। खेल अतिरिक्त समयतर्फ धकेलिने सङ्केत देखिँदै गर्दा ८६औँ मिनेटमा केन फेरि चम्किए। पेनाल्टी क्षेत्रको किनारमा बल नियन्त्रण गर्दै उनले उत्कृष्ट टर्न गरे र शक्तिशाली प्रहारमार्फत निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए। विश्वकपमा केनको यो पाँचौँ गोल हो।
उनको यो प्रेरणादायी प्रदर्शनसँगै इंग्ल्यान्ड सम्भावित ऐतिहासिक हारबाट जोगिँदै अन्तिम १६ मा पुग्न सफल भयो। अब अन्तिम १६ को महाभिडन्तमा इंग्ल्यान्डले सह–आयोजक मेक्सिकोको सामना मेक्सिको सिटीमा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्