नेपालमा विदेशी पर्यटक आगमनले उत्साहजनक वृद्धि देखाएको छ। सन् २०२६ को जून महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले बढेको हो। सन् २०२५ को जूनमा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए।
कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् २०१९ को जून महिनाको तुलनामा पनि यस वर्षको आगमन २२.०१ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ। सन् २०१९ को जूनमा ७४ हजार ८८३ पर्यटक नेपाल आएका थिए।
जून महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकका ४८ हजार २५४ जना रहेका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो। भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल आएका छन्।
अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्। चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल आएका छन्। युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक नेपाल आएका छन्।
अमेरिका महादेशबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो। यस अवधिमा अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ तथा ब्राजिलबाट २१९ पर्यटक नेपाल आएका छन्।
ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत तथा सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो। यस क्षेत्रमा अस्ट्रेलियाबाट २ हजार ६९४ र न्युजिल्यान्डबाट ३९० पर्यटक आएका छन्। यस्तै, अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यका रूपमा बनेको सकारात्मक छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको हो।
पर्यटन बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप लगायत प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्