Ads

मन्त्रिपरिषद्का १० निर्णय : गोरखापत्रमा रावल, सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नियुक्ति, नीतिगत तथा कानुनी विषयसँग सम्बन्धित १० महत्वपूर्ण निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल का अनुसार बैठकले गोरखापत्र संस्थान को महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, सुरक्षण मुद्रण केन्द्र को कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गरिएको छ।

बैठकले नेपाल प्रहरी का आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी बीबीएनजे (BBNJ) सम्झौता अनुमोदनका लागि संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषद्ले शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३, राष्ट्रिय सदाचार नीति, २०८३ तथा राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकले अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।

यस्तै, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति को रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गरेको सरकारका प्रवक्ताले जानकारी दिए।

सरकारले यी निर्णयहरू प्रशासनिक सुधार, सुशासन, कानुनी परिमार्जन तथा संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण रहेको जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू