इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक गोलको मद्दतमा पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
टोरन्टोमा सम्पन्न अन्तिम ३२ को रोमाञ्चक खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको हो। जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्ने भएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ भने निकै प्रतिस्पर्धात्मक रह्यो। खेलको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
एक गोलले पछि परेको पोर्चुगलले ६८औँ मिनेटमा पुनरागमन गर्यो। कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
खेल बराबरीतर्फ अघि बढिरहेका बेला पोर्चुगलका प्रशिक्षकले ८१औँ मिनेटमा रोनाल्डोलाई मैदानबाट बाहिर बोलाउँदै युवा खेलाडीलाई अवसर दिएका थिए। उक्त निर्णयले खेलपछि व्यापक चर्चा पाएको छ। पूर्व खेलाडी स्टीफन वार्नकले प्रशिक्षकको निर्णयको समर्थन गर्दै खेलको गति र रणनीतिक आवश्यकताअनुसार यो सही कदम भएको बताएका छन्।
प्रशिक्षकको रणनीति अन्ततः सफल सावित भयो। नियमित समय सकिएपछि थपिएको इन्जुरी समयको चौथो मिनेटमा राफायल लियाओको उत्कृष्ट क्रसमा गोन्सालो रामोसले शक्तिशाली हेडमार्फत गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए।
इन्जुरी समयमै क्रोएसियाले बराबरी गोल गरेको दाबी गरे पनि भिडियो सहायक रेफ्री (VAR) परीक्षणपछि उक्त गोल अफसाइड ठहर गरिएको थियो। निर्णयपछि केही समय मैदानमा विवादसमेत देखिएको थियो।
रामोसको निर्णायक गोलसँगै पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्यो भने क्रोएसियाको विश्वकप अभियान समाप्त भएको छ।
अब क्वाटरफाइनल प्रवेशका लागि पोर्चुगलले सोमबार स्पेनको चुनौती सामना गर्नेछ। अस्ट्रियामाथि प्रभावशाली जित निकालेको स्पेनविरुद्धको खेललाई प्रतियोगिताकै सबैभन्दा आकर्षक भिडन्तमध्ये एकका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्