मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको एक गोलको मद्दतमा स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार लस एन्जलसमा सम्पन्न नकआउट चरणको खेलमा युरोपेली च्याम्पियन स्पेनले अस्ट्रियालाई ३–० ले पराजित गर्दै उपाधि दाबेदारीलाई थप बलियो बनाएको हो।
हलिउड कलाकार पेनेलोपे क्रुज, हाभियर बार्डेम तथा चर्चित गायिका रोसालियाको उपस्थितिमा भएको खेलमा स्पेनले सुरुदेखि नै बलमाथि नियन्त्रण कायम राख्दै अस्ट्रियामाथि दबाब बनाएको थियो। जितको अन्तर अझ फराकिलो हुन सक्थ्यो, तर स्पेनको एक गोललाई भिडियो सहायक रेफ्री (VAR) ले रद्द गरेको थियो भने अर्को प्रहार क्रसबारमा लागेको थियो।
खेलको सुरुआती चरणमै लामिन यामालको कर्नरमा मार्क कुकुरेलाले गोल गरेका थिए। तर पाउ कुबार्सीले अस्ट्रियाका गोलकिपर अलेक्ज्याण्डर श्लागरलाई अवरोध गरेको ठहर गर्दै VAR ले गोललाई मान्यता दिएन। त्यसपछि पनि स्पेनले लगातार आक्रमण जारी राख्यो र श्लागरले केही उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए।
स्पेनले खेलको ३६औँ मिनेटमा अग्रता लियो। पेड्रिको पासमा मार्क कुकुरेलाले दिएको आकर्षक क्रसलाई मिकेल ओयार्जाबालले सहज रूपमा जाली चुमाउँदै टोलीलाई १–० को अग्रता दिलाए।
दोस्रो हाफमा अस्ट्रियाले सासा कालाज्दिच र मार्को अर्नाउटोभिचलाई मैदानमा उतार्दै खेलमा फर्किने प्रयास गर्यो। तर स्पेनको सुदृढ रक्षापंक्ति र प्रभावशाली मिडफिल्ड प्रदर्शनका कारण अस्ट्रियाको योजना सफल हुन सकेन।
खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको उत्कृष्ट क्रसमा पेड्रो पोरोले शक्तिशाली हेडरमार्फत गोल गर्दै स्पेनको अग्रता २–० बनाए। अन्तर्राष्ट्रिय फुटबलमा पोरोको यो पहिलो गोल हो।
अन्तिम समयमा स्पेनले छोटो–छोटो पासमार्फत खेलमाथि पूर्ण नियन्त्रण जमायो। दर्शकदीर्घाबाट ‘ओले’ को नारा गुञ्जिरहेका बेला ८९औँ मिनेटमा मार्क कुकुरेलाको पासलाई सदुपयोग गर्दै ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरे। त्यससँगै स्पेनले ३–० को प्रभावशाली जित सुनिश्चित गर्यो।
खेलपछि ओयार्जाबालले टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्दै अर्को चरणमा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले अस्ट्रियालाई शारीरिक रूपमा बलियो प्रतिद्वन्द्वी भन्दै स्पेनले योजनाअनुसार उत्कृष्ट खेल प्रदर्शन गरेको उल्लेख गरे।
यो जितसँगै स्पेनले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब उसले सोमबार डलासमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ क्वाटरफाइनल प्रवेशका लागि विश्व फुटबलका दुई शक्तिशाली टोली आमनेसामने हुनेछन्।
प्रतिक्रिया दिनुहोस्