Ads

छिटो नतिजा र डिजिटल सेवा-शिक्षा मन्त्रालयका ४२ सुधारात्मक कदम


शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको १०० दिनको अवधिमा मन्त्रालयले गरेका ४२ प्रमुख उपलब्धि सार्वजनिक गरिएको छ। मन्त्रालयले २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्मको प्रगति विवरण सार्वजनिक गर्दै शिक्षा क्षेत्रको सेवा प्रवाह, परीक्षा प्रणाली र संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको जनाएको छ।

प्रगति विवरणअनुसार अब एसईईको नतिजा एक महिनाभित्र, कक्षा १२ को नतिजा ४० दिनभित्र र विश्वविद्यालय तहका परीक्षाको नतिजा ६५ दिनभित्र प्रकाशन गर्ने प्रणाली लागू गरिएको छ। वैदेशिक अध्ययन अनुमति–पत्र तथा शैक्षिक प्रमाणीकरण सेवा बिदाको दिनमा समेत उपलब्ध गराउने व्यवस्था पनि सुरु गरिएको छ।

मन्त्रालयले जेन्जी आन्दोलनबाट प्रभावित परिवार तथा नागरिकका लागि रोजगारी, सीप विकास, मनोसामाजिक परामर्श र पुनर्स्थापना कार्यक्रम सुरु गरेको जनाएको छ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ। नेपाल संस्कृत, मध्यपश्चिम, सुदूरपश्चिम विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र लगायत निकायसँग सम्बन्धित विभिन्न कार्यदलका प्रतिवेदनहरू कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको छ।

शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप घटाउने उद्देश्यले विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनका लागि भवन तथा जमिन उपलब्ध नगराउने र राजनीतिक संकेत हटाउने निर्णय पनि कार्यान्वयनमा ल्याइएको छ।

त्यस्तै, सबै विश्वविद्यालय तथा स्वायत्त निकायमा पदाधिकारी नियुक्ति स्वच्छ र प्रतिस्पर्धात्मक आधारमा गर्ने प्रणाली सुरु गरिएको मन्त्रालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदामा गएर समयमै नफर्किएका करिब ४०० प्राध्यापकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। यसबाट करिब २ अर्ब रुपैयाँ राजस्व फिर्ता हुनुपर्नेमा हालसम्म १३ करोड रुपैयाँ असुल भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यी कदमहरूलाई शिक्षा प्रणालीलाई पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण सुधारका रूपमा व्याख्या गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू