प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही ले कर्णालीमा भएको सवारी दुर्घटना र त्यसपछिको उद्धार प्रक्रियामा भएको ढिलाइप्रति गम्भीर आक्रोश व्यक्त गर्दै राज्यको विपद् व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाएका छन्।
संसदमा भावुक बनेर बोल्दै उनले कर्णाली नदीमा दुर्घटनापछि फसेका नागरिकहरूले जीवन बचाइदिन लगातार गुहार माग्दासमेत समयमै उद्धार नपुग्दा ठूलो मानवीय क्षति भएको बताए। उनका अनुसार घटनाप्रति राज्यको ढिलासुस्ती “गम्भीर संवेदनहीनता” को उदाहरण हो।
शाहीले घटनाक्रमका बेला आकाशमा हेलिकोप्टर देखिएको तर त्यो उद्धारका लागि नभई अन्य प्रयोजनमा प्रयोग भएको दाबी गर्दै कडा प्रश्न उठाए। साथै, उद्धार टोलीसँग आवश्यक उपकरणको अभाव रहेको र सुरक्षाकर्मी घटनास्थलमा पुग्न करिब पाँच घण्टा लागेको उल्लेख गरे।
उनले कर्णालीमाथि राज्यले निरन्तर विभेद गरिरहेको आरोप लगाउँदै भने, “यदि कर्णाली पनि नेपाल हो भने विपद्को बेला राज्य किन अनुपस्थित हुन्छ?” भन्दै समान व्यवहारको माग गरे।
शाहीले सरकारले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा कर्णालीले त्यसको अनुभूति गर्न नसकेको बताए।
उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न तथा दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्दै भविष्यमा यस्ता दर्दनाक घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्