काठमाडौँ, । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले देशमा शान्तिसुरक्षा कायम राख्न गृहमन्त्रालय क्रियाशील रहेको बताए ।
गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्नेमा जोड दिए । “माननीयज्यूहरूले उठाएका विषय निकै संवेदनशील छन् । कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा र त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छरु” उनले प्रश्न गरे ।
गृहमन्त्री गुरुङले उक्त विषयमा अनुसन्धान जारी रहेकाले त्यसमा टिप्पणी गर्न उपयुक्त नहुने बताए । “यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ,” उनले भने, “प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण माननीयज्यूहरूलाई यो विषय बारम्बार उठान नगर्न अनुरोध गर्दछु ।” यद्यपि उनले यस्ता विषयमा व्यक्तिगत रूपमा पनि आफूलाई सोध्न सकिने बताए ।
गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणबारे टिप्पणी गर्न नचाहेको पनि बताउनुभयो। सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिबाट आफ्नो विधायकीय अधिकार हनन भएको महसुस गरेको बताउँदै प्रश्न गर्ने सांसद र त्यसको उत्तर दिने मन्त्रीको अधिकार संसदीय अभ्यासको स्वाभाविक प्रक्रिया भएको स्मरण गराए ।
फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय आवश्यक छ भने ।
“हाम्रो देशले धेरै उतारचढाव बेहोरेको छ। त्यसैले तीनै तहका सरकार मिलेर मानसिक स्वास्थ्यसम्बन्धी योजना बनाइरहेका छौँ,” उनले भने, “११६६ हेल्पलाइनमार्फत आत्महत्या रोकथामका लागि प्रयास भइरहेको छ ।”
प्रतिक्रिया दिनुहोस्