काठमाडौँ, । खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण भएको छ । राष्ट्रियसभा बैठकको आजको शून्य समयमा सांसदहरुले सो विषयमा राष्ट्रियसभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद गीता देवकोटाले पारदर्शी वितरण प्रणाली कायम गर्न, कालोबजारी नियन्त्रण गर्न तथा पर्याप्त ग्यास भण्डारणको व्यवस्था गर्न माग गरे । सांसद रञ्जित कर्णले ग्यास अभावका कारण दैनिक जीवनमा समस्या आएकाले ग्यासको विकल्प रोज्नुपर्ने बताए । त्यस्तै, सांसद रोश्नी मेचेले खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारसँग माग गरे ।
शून्य समयमा बोल्दै सांसदले रोल्पा, जाजरकोटलगायतका जिल्लामा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रतिमा दुःख व्यक्त गर्दै प्रभावित तथा विस्थापित परिवारलाई राहत उपलब्ध गराउन माग गरे।
सांसद मिना सिंह रखालले विपद् केबल प्राकृतिक घटना नभई पूर्वतयारी, उद्धार र राज्यको तत्काल उपस्थितिको परीक्षासमेत भएको बताए । सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिन माग गरे । सांसद रामकुमारी झाँक्रीले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने गृहमन्त्री र सुरक्षाकर्मीमाथि अनावश्यक लाञ्छना लगाइएको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस्