काठमाडौँ, । नेकपा ९एमाले० संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय सहमति र सामूहिक पहलबाट मात्रै विद्यमान प्राकृतिक विपत्तिपछिको सङ्कटको सामना गर्न सकिने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै नेता थापाले उद्धार, राहत र समन्वयमा प्रभावकारी काम गर्न सक्नुपर्नेमा जोड दिए । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको विनासकारी बाढीमा परेर दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले बेपत्ता भएकाहरूको खोजी र राहत तथा पुनःस्थापनामा योजनाबद्ध कामका लागि सामूहिक र सङ्गठित प्रयास गर्नुपर्ने बताए ।
सरकार सदनप्रति पूर्ण उत्तरदायी हुनुपर्ने तथा सरकारले राजनीतिक दल र विज्ञहरूको सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने उनको प्रस्ताव थियो । पूर्व रक्षामन्त्री थापाले अन्तररष्ट्रिय सहयोग र समन्वय गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल, युद्धस्तरमा उद्धार र राहत कार्यका लागि रक्षामन्त्रीको नेतृत्वमा एकीकृत विशेष कार्यदल र क्षतिको समग्र मूल्याङ्कन र पुनः निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्न सुझाव दिए । उनले जलवायु सङ्कटले नेपालले खेपिरहेका समस्याबारे सगरमाथा संवादको दोस्रो संस्करणलाई आयोजना गर्न पनि आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्