Ads

अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ


काठमाडौं।  पृथ्वीराजमार्गको धादिङ कृष्णभीरमा त्रिशूली नदीले कटान गरी बाटो पूर्ण रूपमा अवरुद्ध बनाएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था मिलाएको छ।

धादिङको जुगेखोलास्थित आफ्नै ‘एलपिजी प्लान्ट’मा ग्यास बुलेट पुग्न नसकेपछि कर्पोरेसनले निजी ग्यास कम्पनीहरूसँग सहकार्य गर्दै ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्ने (बोटलिङ) काम सुरु गरेको हो।

कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाका अनुसार मनोज र बाबा ग्यासका प्लान्टहरूसँग सहकार्य गरी खाली सिलिन्डर भरेर वैकल्पिक मार्गमार्फत काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको छ। केही ग्यास बुलेटलाई ती निजी कम्पनीमा डाइभर्ट समेत गरिएको र शुक्रबारसम्म भरिएका सिलिन्डर काठमाडौँ आइपुग्ने उनले जानकारी दिए।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट सम्झौता गरेका ३,०२५ ग्यास बुलेटमध्ये कर्पोरेसनले जम्मा ५३ वटा (करिब २ प्रतिशत) पिडियो कोटा पाउँदै आएको छ। हाल मासिक ५५ हजारदेखि ६० हजार एसटिसी सिलिन्डर खपत भइरहेको अवस्थामा कर्पोरेसनले कुपन प्रणालीमार्फत ग्यासको चुस्त वितरण गर्दै आएको छ।

६ महिनालाई पुग्ने नुन मौज्दात

यसैगरी, साल्ट ट्रेडिङले देशभर छ महिनालाई पुग्ने आयोडिनयुक्त नुनको मौज्दात राखेको छ। भदौ १७ गतेसम्म कर्पोरेसनका गोदामहरूमा एक लाख २७ हजार ३६१ मेट्रिकटन नुन स्टक रहेको झाले बताए। नेपालमा वार्षिक दुई लाख टनभन्दा बढी नुनको माग हुने गरेकोमा गत आर्थिक वर्षमा कर्पोरेसनले दुई लाख १० हजार टन नुन बिक्री वितरण गरेको थियो।

चिनीको मूल्यमा बजार हस्तक्षेप

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढिरहेका बेला साल्ट ट्रेडिङले भने प्रतिकिलो रु १०० मा चिनी बिक्री गर्दै बजार नियन्त्रणमा सहयोग पुर्‍याएको छ, जबकि निजी क्षेत्रले प्रतिकिलो रु १३५ सम्ममा बिक्री गरिरहेका छन्। भदौ ९ गते मात्र ६०० टन चिनी भित्र्याएको कर्पोरेसनले हालसम्म तीन हजार टन चिनी बजारमा पठाइसकेको जनाएको छ।

बजारमा चामल, दाल, गेडागुडी तथा तेल जस्ता उपभोग्य वस्तुको मूल्य निरन्तर उकालो लागिरहँदा कर्पोरेसनले भने आफ्ना खाद्यान्नको मूल्य स्थिर राखेको छ। विशुद्ध नाफाभन्दा पनि असहज परिस्थितिमा सर्वसुलभ सेवा पुर्‍याउने उद्देश्यका साथ काम भइरहेको कर्पोरेसनले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू