Ads

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ ।

पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो ।

नौबिसे-मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ । उनले भने, “हिजो खुलेको ट्र्याक फराकिलो बनाउने काम सुरु गरिएको छ ।”

माथितिर भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका धेरै काम बाँकी छन् । सर्वसाधारणका गाडी गुड्न अझै समय लाग्ने उनको भनाइ छ ।

अगामी भदौ मसान्तसम्ममा सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको उहाँले बताउनुभयो । उनले भने, “अब डिजाइनअनुसार काम गर्ने वातावरण बनेको छ । निर्माणका लागि आवश्यक प्राविधिक सामग्री र जनशक्तिको अभाव छैन । अब सडक डिजाइनअनुसार निर्माण हुन्छ र काम गर्न सहज भएको छ ।”

मिश्रका अनुसार अहिले खोलिएको ट्र्याक मुख्यतया निर्माणमा संलग्न कामदार र निर्माण सामग्री ओसारपसारका लागि प्रयोग भएको छ ।

नयाँ सडक खोल्ने काम निर्माण कम्पनी शर्मा-जेडआइभी जेभीले गरेको छ । कम्पनीका साइट प्रबन्धक इञ्जिनियर ईश्वर नेपालका अनुसार  मुख्य सडकबाट करिब २० मिटर अग्लो र ३५० मिटर लामो ट्र्याक  खोलिएको हो । उनले भने, “ट्र्याक खुलेपछि निर्माण सामग्री लैजान, इन्धन पुर्‍याउन र कामदार आवतजावत गर्न सहज भएको छ । अहिले यो ट्र्याक निर्माण प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको हो । सर्वसाधारणका लागि नयाँ सडक खुलेको होइन ।”

उनका अनुसार अब स्लोप कटिङ, भित्ता काट्ने, ढुंगा थुपार्ने, ग्रेडिङ मिलाउनेलगायत धेरै काम अझै बाँकी छन् । आपत्कालीन अवस्थामा सर्वसाधारण पनि हिँडेर वारपार गर्न सक्ने अवस्था बनेको उनको भनाइ छ । अब दुवैतर्फबाट डिजाइनअनुसार सडक निर्माणको काम अघि बढाइने उनले बताए ।

आजदेखि भारी उपकरणहरू थप गरिएको छ । दुई एक्साभेटर थप गरेर सात पुर्‍याइएको छ । एउटा जेसिबी, लोडर, दुई बुल्डोजर परिचालन गरिएको छ । आवश्यकताअनुसार उपकरण थप्दै लगिने उनले जानकारी  दिए ।

Ads

सम्बन्धित पोष्टहरू