Ads

आज प्रतिनिधिसभाको बैठक, कैदीबन्दीलाई प्रजनन् अधिकार सहितको विधेयक पास गर्ने तयारी


काठमाडौ । कारागारमा रहेका कैदीबन्दीहरुलाई प्रजननको अधिकार दिने गरी विधेयक ल्याउने तयारी गरिएको छ । आजको प्रतिनिधि सभाको बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसुची रहेको छ ।
विधेयकमा लामो समय देखि बहसमा आएको कैदीको प्रजनन् अधिकार र खुला कारागारको अवधारणाका विषयहरु समेटिएको छ ।

विधेयकको दफा ४२ अनुसार कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रशासकले खुला कारागारमा राख्न सिफारिस गर्न सक्नेछ ।

खुला कारागारमा रहेका कैदीलाई नेपाल सरकार, प्रदेश सरकार मातहत सञ्चालित विकास आयोजना वा कार्यक्रममा काम गर्न लगाउन सकिने, स्वयंसेवकको रुपमा काम लगाउन सकिनेलगायतका प्रावधान समेटिएका छन् । काम लगाउँदा कैदीबन्दीलाई नेपाल सरकारले तोकेको न्युनतम तलब दिनुपर्नेलगायतका व्यवस्था समेटिएको छ ।

यसैगरी कारागार प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई बसोबास, खानपान र स्वास्थ्य परीक्षणको सम्बन्धमा विशेष व्यवस्था राखिएको छ ।

उपचारका लागि गर्भवती बन्दी कारागारबाहिर बस्न चाहे सुत्केरी भएको ६० दिन पूरा भएको भोलिपल्ट कारागार फर्किन पाउनेगरी कारागार प्रशासनले अनुमति दिनुपर्ने प्रस्ताव पनि विधेयकमा छ ।

यो विधेयकले कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार दिने प्रावधानलाई पनि समेटेको छ । विधेयकको दफा २३ मा प्रजनन अधिकार सम्बन्धी व्यवस्था छ । बन्दीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि कारागार प्रशासकले उपयुक्त व्यवस्था गर्ने भनिएको छ ।

आजको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेश गर्ने र मदन भण्डारी विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

Ads

सम्बन्धित पोष्टहरू