काठमाडौं । भारतको भुवनेश्वरमा आजदेखि सुरु हुने साफ यू-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्स बीचको खेल भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार अपरान्ह ४ बजे हुनेछ ।
राउण्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा नेपालको लक्ष्य माल्दिभ्स विरुद्ध ३ अंक जोड्नु रहेको छ ।
भुवनेश्वरमा आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका कप्तान आयुष घलानले प्रतियोगिताको लागि तयारी राम्राे भएको र ३ अंकका लागि खेल्ने बताए ।
यस्तै नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भने साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने गरी तयारी गरेकाे बताएका छन् । करिब २ महिनादेखि टोलीले तयारी थालेको र यस टोलीबाट धेरै अपेक्षा गरिएको उनले बताए ।
कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यस पटक खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो ।
नेपाली टिममा सिनियर टिमका सदस्य आयुषसहित ए डिभिजन लिग खेलेका सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलानसहित ए डिभिजनमा खेलेका कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आशिष राई, दीपेश गुरुङ लगायत शीर्ष श्रेणीको लिग खेलेका अनुभवी खेलाडी समेत छन् ।
माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताएका छन् ।
नेपाल र माल्दिभ्स यो स्तरमा यसअघि दुई पटक खेलेका छन् । सन् २०१७ मा नेपालले माल्दिभ्सलाई हराएकाे थियाे भने २०१९ मा बराबरी खेलेकाे थियाे ।
सोमबारै श्रीलंका र बंगलादेशबीच पनि खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्