मोरङ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा ल्याउने बताएका छन् ।
उनले मंगलबार जुट मिल्सको अनुगमनपछि मुलुकमा रुग्न रहेको ७ वटा उद्योगलाई सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने सरकारी नीति अनुरुप जुट मिल्स पनि सञ्चालन गर्ने तयारी भइरहेको बताएका हुन् ।
मन्त्री बडूले मिल्समा कार्यरत कर्मचारी र स्थानीयसँग मिल्स सञ्चालन गर्नेबारे छलफल गरेका थिए । विराटनगर १५ का वडाध्यक्ष प्रकाश साहले लामो समयदेखि जुट मिल्स बन्द भएपछि मिल्स एरिया उजाड बनेकाले मिल्स सञ्चालन गर्न मन्त्री बडूलाई आग्रह गरेका थिए । उनले मिल्स सञ्चालन गरेर बेरोजगारलाई रोजगारी प्रदान गर्नसमेत आग्रह गरेका थिए ।
मिल्सका प्रशासन अधिकृत तारानाथ तिम्सिनाले मिल्समा कार्यरत ४६ जना कर्मचारीले २०७३ जेठ महिनादेखि हालसम्म तलव नपाएकाले मन्त्री बडूलाई उपलब्ध गराइदिन ध्यानाकर्षण गराएका थिए । उनले कर्मचारीहरूले पाउन बाँकी रहेको तलव ३ करोड पुगेको बताए ।
६७ प्रतिशत सरकारको सेयर रहेको मिल्सको विराटनगरस्थित ६७ विघा र दमकलगायतको ठाउँमा गरी कूल ६९ बिघा जग्गा रहेको छ । नयाँ र पूरानो गरी दुई वटा मिल र संसारमा तीन वटा मात्रै रहेको दुर्लभ जेनेरेटर मिल्सको पावर हाउसमा छ । मिल्सको हडतालीहाट र दक्षिण गेटको १७ बिघा जग्गा अतिक्रमण भइसकेको छ ।
मिल्सका तत्कालीन अध्यक्ष निलहरी काफ्लेले मिल्सका पार्टस्, गोदाममा रहेको सालको काठ। इटालगायत सामग्री बिक्री गरेका थिए । त्यसको तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यायिक छानबिन समिति गठन गरेर छानबिन गराएका थिए । तर त्यो छानबिन समितिको प्रतिवेदन हालसम्म सार्वजनिक हुन सकेको छैन । (याे समाचार कान्तिपुर अनलाइनमा छ ।
प्रतिक्रिया दिनुहोस्