Ads

सत्ता गठबन्धनसँग आगामी चुनावमा हिसाब-किताब हुन्छ : ओली


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय सत्ता गठबन्धनसँग आगामी चुनावमा हिसाब-किताब हुने बताउनुभएको छ ।

झापामा पार्टी निकट नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी यत्तिकै हिसाबकिताब नगरीकन बसेका छौं भन्ने लागेको होला  । तर हामी हिसाबकिताब गरेर बसेका छौं, कतिबेला के कदम चाल्नुपर्छ,त्यस्ता कदमहरु चाल्नेछौं ।’

आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धनका दललाई पराजित गर्नैपर्ने अध्यक्ष ओलीले भन्नुभयो । गठबन्धनलाई पराजित गर्नेगरी चुनावको तयारी थाल्न नेता तथा कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले आफ्नो कुरामा भन्दा देश र समृद्धिको कुरामा ध्यान दिन नेता-कार्यकर्तालाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो कुरामा भन्दा अब देश, लोकतन्त्र र समृद्धिको कुरामा हाम्रो ध्यान जानुपर्छ र त्यसका निम्ति पार्टी मजबुत बनाउदै जानुपर्छ, पार्टी मजबुत बनाउनुको अर्थ पार्टीलाई विजयी बनाउनु हो, पार्टीलाई विजयी बनाउनु भनेको देशका लागि अभिसाप सिद्ध भएको, गलत मनसाय र गलत क्रियाकलापलाप गर्ने गठबन्धनलाई पराजित गर्नुपर्छ, हाम्रो तयारी त्यो हुनुपर्छ ।’

नेपाली जनताको उन्नति प्रगति देख्न नसक्नेहरुलाई नेपाली जनताले एकमुष्ठ जवाफ दिनुपर्ने र पराजित गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ । लोकतन्त्रको रक्षा र समृद्धिका लागि आगामी चुनावमा सफलता हासिल गर्नैपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘आगामी चुनाव हाम्रो केन्द्रीय कार्यभार र अभिभारा हो, त्यसमा हामीले सफलता हासिल गर्नैपर्छ,त्यो कुरामा हामी एकजुट हुनैपर्छ ।’

Ads

सम्बन्धित पोष्टहरू