काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारको चारजनाको शव विभत्स अवस्थामा फेला परेको छ ।
सोमबार बिहान श्रीमान दिनेश पाण्डे, श्रीमती सुनीता काप्री पाण्डे, उनका छोरा आशिक र छोरी आशिकाको शव विभत्स अवस्थामा फेला परेको हो ।
बिहान विद्यालयको गाडी लिन आएको बेला कोही पनि बाहिर ननिस्किएपछि घटनाको रहस्य सार्वजनिक भएको हो ।
विद्यालयको गाडीले हर्न बजाउदा बाहिर कोही पनि ननिस्किएपछि छिमेकीले मूल ढोका ढकढक्याए तर कसैले पनि ढोका नखोलेपछि छिमेकीले प्रहरीले खबर गरेका थिए ।
पछि प्रहरी आएर ढोका खोल्दा चारजानको शव विभत्स अवस्थामा फेला परेको छिमेकीले बताएका छन् । प्रहरीले घटनास्थलमा बाहिरी मानिसलाई प्रवेश गर्न दिएका छैन ।
छिमेकीका अनुसार श्रीमान दिनेशले पदमसाल चोकमा मोवाइल पसल सञ्चालन गर्दै आएका थिए । संयुक्त अधिराज्य बेलायत जानको लागि भिसा लगाइसकेकी श्रीमती सुनीताले फेन्सी पलस सञ्चालन गर्दै आएकी थिइन् ।
त्यस्तै, दिनेशले अत्याधिक मादक पदार्थ सेवन गर्ने जानकारी समेत छिमेकीले दिएका छन् ।
प्रारम्भिक अनुसन्धानमा श्रीमानले श्रीमतीको हत्या गरेको र त्यसपछि बच्चा र आफूले हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्