Ads

कांग्रेस र माओवादीका नेता तथा कार्यकर्ताहरू एमालेमा


रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटीले जिल्ला स्तरीय संगठन सृदृढीकरण तथा शुद्धीकरण अन्तर्गत प्रशिक्षण कार्यक्रममा सम्पन्न गरेको छ ।

जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, सल्लाहकार परिषदका सदस्यहरू, नगर तथा गाउँकमिटी पदाधिकारीहरू, वडाकमिटीका अध्यक्ष, निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला पदाधिकारीहरूलाई प्रशिक्षण दिइएको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, सहइन्चार्ज शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुङ्गेल र केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज माधव ढुङ्गेल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले फरक–फरक दिशामा फर्किएका पार्टीहरू मिलेर बनेको अपवित्र गठबन्धन निरन्तर एमालेका विरुद्धमा रहेको बताउनुभयो  ।  उहाँले भन्नुभयो, ‘राम्रो काम गरिरहेको एमालेलाई सरकारबाट हटाउन सङ्घीयता नचाहने, प्रदेश बढाइनुपर्छ । संसदीय व्यवस्था स्वीकार छैन भन्ने र संसदीय व्यवस्थाको विकल्पै छैन भन्ने पार्टीको अपवित्र गठबन्धन बनेको र यो गठबन्धन निरन्तर एमालेको विरुद्धमा छ ।’

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘सङ्घीयता खारेजीको माग गर्ने राष्ट्रिय जनामोर्चा, १४ वटा प्रदेश बनाउनुपर्छ भन्ने जनता समाजवादी पार्टी यही गठबन्धनमा छन् । संसदीय व्यवस्थालाई स्वीकार गरिएको छैन भन्ने प्रचण्ड र संसदीय व्यवस्थाको विकल्प छैन भन्ने काँग्रेस एकैठाउँमा छन् । दशतिर फर्किएका पार्टीहरूलाई एक ठाउँमा ल्याउन कुन काँटा किलाले जोडिदियो ?’

गठबन्धन मात्रै नभई अदालत, विदेशी शक्तिकेन्द्र र अरू विभिन्न संवैधानिक अङ्गहरू समेत एमालेको विरुद्धमा रहेको उहाँले बताउनुभयो ।

एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले नेकपा एमाले प्रवेशको सिलसिला निरन्तर रहेको र जारी रहने बताउनुभयो ।

नेता अधिकारीले नेपालमा एमाले भन्दा राम्रो पार्टी अरू कुनै नभएकाले एमाले प्रतिको आकर्षण यथावत् रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस र माओवादी विचार नै नभएका पार्टी हुन् । अन्य पार्टी अस्तित्व नै जोगाउन नसक्ने अवस्थामा पुगिसकेको छ ।’

जनताको बहुदलीय जनवाद मौलिक कम्युनिष्ट विचार भएको उहाँले बताउनुभयो। जनताको बहुदलीय जनवादबाट एमाले मात्र होइन देश नै निर्देशित भएको उहाँको भनाइ थियो ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले विगतको निर्वाचनमा समयमा उम्मेदवार छान्न नसक्दा सोचे अनुसारको परिणाम आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबका चुनावमा एमालेले समयमा नै उम्मेदवार घोषणा गरेर जान्छ ।’

एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले कम्युनिष्ट आन्दोलनमा लागेर एमालेमा लागेर के पाइयो भन्नेहरूलाई गणतन्त्रदेखि, राजनीतिक र नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान लगायतका उपलब्धि प्राप्त भएकोबारे वताउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

यसैबीच, नेपाली काँग्रेस रामेछापका क्षेत्रीय प्रतिनिधि रमेश लामिछाने र बालकुमार खत्री तथा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार भगतसिंह लामासहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले रामेछापको मंगलबार मन्थलीमा आयोजना गरिएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा काँग्रेस र माओवादी परित्याग गरेर ती नेता् कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन् ।

उहाँहरूलाई उपमहासचिव ज्ञवाली, पार्टी स्थायी कमिटी सदस्य अधिकारी लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू