Ads

काँग्रेस महाधिवेशनः आज मनोनयन दर्ता


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्वसहित पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि आजदेखि (शनिबार) बाट निर्वाचन प्रक्रिया सुरु हुदै छ ।
निर्वाचनको लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ ।

महाधिवेशनको दोस्रो दिन आज बिहान १० बजेदेखि मनोनयन दर्ताको लागि समय तोकेको छ । मनोनयन दर्ता शनिबार साँझ पाँच बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
नेतृत्व चयनको लागि मतदान भने २७ गते बिहान ८ बजेदेखि हुनेछ । कांग्रेस महाधिवेशन अन्र्तरगत शुक्रबार उद्घाटन सत्र भएर बन्दसत्र पनि सम्पन्न भइसकेको छ।

महाधिवेशनबाट कांग्रेसले १३४ जनाको केन्द्रीय कमिटी चयन गर्ने छ । कांग्रेसमा पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, नौ जना महिला , प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जना , नौ जना दलित , आदिवासी जनजाति १५ जना , खस आर्य १३ जना , मधेसी नौ जना, थारु चार जना , मुस्लिम तीन जना , पिछडिएको क्षेत्रबाट एक जना, अल्पसङ्ख्यक बाट एक जना , अपाङ्बाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने छ ।

संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दिने छन् । उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । संस्थापन इतर समूहले भने अहिलेसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । यो समूहले आज पनि सहमतिको लागि एक पटक छलफलमा बस्ने तयारी गरेको छ । यो समूहमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी नछाडेपछि सहमति हुन सकेको छैन । यो समूहले साझा उम्मेदवार उठाउने भनेपनि तीन जनाको दाबी रहेको छ । रामचन्द्र पौडेल पनि सभापतिको दाबेदार हुन । तर सिंह र कोइरालाले नै दाबी नछोड्दा पौडेल झनै अप्ठेरोमा परेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू