काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले नेता आडम्बर र पाखण्डी हुन नहुने बताउनुभएको छ ।
आइतबार काठमााडैंमा आयोजित ‘युवासँग केपी ओली’ कार्यक्रममा उहाँले नेताले आडम्बरी त्याग्न सके मुलुकको विकास हुने बताउनुभयो । ओलीले आफू वर्तमान सरकारको विरोधमा नभए पनि परिस्थितिले नै कटाक्ष गर्नुपरेको बताउनुभयो ।
उहाँले सेटिङमा बजेट बन्दा र व्यापारीले करका दर तोक्दा आफ्नो मन पोल्ने बताउनुभयो । आफू प्रधानमन्त्री छँदा देशमा पैसाको छेलोखेलो भए पनि अहिले पैसा रित्तिएर विकास निर्माणको काम ठप्प भएको उल्लेख गर्नुभयो ।
आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग, धरहरा रानीपोखरी, दरबार हाइस्कुल, आर्मी हेडक्वाटर बनेको र ३ सय ९६ वटा अस्पताल एकै ठाउँबाट शिलान्यास गरेको बताउनुभयो ।
‘अहिले विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ ? पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो ?’, उहाँले भन्नुभयो । त्यति धेरै पैसा कसरी हरायो भन्नेमा आफू चिन्तित भएको ओलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्