काठमाडौं। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ ।
समिति गठन भएको करिब ६ महिनापछि बुधबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुङ्गो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको हो ।
बैठकले अर्को बैठकमा सो महाअभियोग टुङ्गो लगाउने गरी कार्यतालिकाको मस्यौदा तयार पारी समितिको बैठकमा पेश गर्ने अधिकार सचिवालयलाई दिने निर्णय पनि गरेको छ ।
समितिका सचिव लक्ष्मीप्रसाद गौतमले समितिका ज्येष्ठ सदस्य र सदस्यहरुसँग आवश्यक समन्वय गरी सो महाअभियोग टुङ्गो लगाउनका लागि कार्यतालिका अर्को बैठकमा पेश गर्ने अधिकार सचिवालयलाई दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘आगामी बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल गर्ने निर्णय समितिको बैठकले गरेको छ । त्यसका लागि सचिवालयले तयार पारेको कार्यविधिको मस्यौदा सबै सदस्यहरुले प्राप्त गरिसक्नुभएको छ । दोस्रो, सचिवालयले आगामी बैठकमा कार्यतालिका प्रस्तुत गर्ने । समितिमा रहनुभएका सबै सदस्यहरुको समन्वयमा सचिवालयको तर्फबाट आगामी बैठकमा कार्यतालिका प्रस्तुत हुन्छ ।’’
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले एक महिनाभित्र सो महाअभियोग टुङ्गो लगाउने गरी कार्यविधि र कार्यतालिका तय गर्नुपर्ने बताउनुभयो ।
सांसद पोखरेलले प्रतिनिधिसभाको आयु धेरै नभएकाले सो महाभियोग टुङ्गो लगाउने समय धेरै राख्न नहुने तर्क समेत गर्नुभयो । सत्तारुढ दलहरुले संविधान, कानुन र नियमावली विपरित सो महाअभियोग प्रस्तावमाथिको छलफल रोकेर राखेको भन्दै सांसद पोखरेलले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘देशको प्रधानन्यायाधीशउपर लगाएको महाअभियोगको सन्दर्भ पाँच-पाँच महिनासम्म ऐन, कानुन र संविधानको व्यवस्था विपरित अपमानजनक ढङ्गले रोकेर राख्ने काम गरियो । प्रतिनिधिसभाको आयु नै लामो नभएको हुनाले यसलाई एक महिनाभित्र टुङ्गो लगाउने गरी कार्यतालिका तय गर्नुपर्छ ।’’
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले तीन महिनाभित्र सक्नेगरी महाअभियोग प्रस्तावलाई टुङ्गोमा पुर्याउने गरी काम अघि बढाउन उपयुक्त हुने धारणा राख्नुभयो । सांसद विश्वकर्माले सिङ्गो संसदले दिएको सो जिम्मेवारीलाई पूरा गर्न समितिका सबै सदस्यहरु गम्भीर भएर लाग्नुपर्ने धारणा समेत राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्