ताप्लेजुङको धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ।
आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति तथा महोत्सव सञ्चालन समितिले जनाएको छ।
समितिका अध्यक्ष तारानाथ घिमिरेले नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचारप्रसार तथा पर्यटकीय प्रवद्र्धन गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए।
म्याराथन भने सदरमुकाम फुङ्लिङको तोक्मेडाँडाबाट सुरुआत भई काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने आयोजकले जनाएको छ।
महोत्सवमा खुला म्याराथन तोक्मेबाट सुरु भई तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने गरेको छ।
कार्यक्रमको पहिलो दिन बिहान बजारमा कलश यात्रा गरिने छ।
महोत्सवको अवसरमा पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तक्र्रिया, खाद्य परिकार महोत्सव, कृषिमेला, प्याराग्लाइडिङ, रक क्लाइमिङ तथा साइक्लिनिङ, फुङफुङ्गे झरना अवलोकन, भाले झार्ने, पर्यटकीय क्षेत्र वृत्त चित्र प्रदर्शनी लगायतका कर्यक्रम आयोजना गरिने छन्।
महोत्सवको मुख्य आकर्षक म्याराथन दौड तोक्मेदेखि पाथीभरा मन्दिरसम्म हुने छ।
महिला हाफ म्याराथन तोक्मेदेखि काफ्लेपाटीसम्म हुनेछ।
महोत्सव सञ्चालनका लागि करिब रु ६५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
रासस
प्रतिक्रिया दिनुहोस्