Ads

नेपाल र बेलायतबीच श्रम समझदारी : बेलायत स्वास्थ्यकर्मी पठाउन बाटो खुल्यो


काठमाडौं । नेपाल र संयुक्त अधिराज्य बेलायत सरकारबीच त्यहाँको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा मन्त्री शेरबहादुर कुँवर उपस्थित हुनुहुन्थ्यो । मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले बेलायतमा कति स्वास्थ्यकर्मी पठाउने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी दिनुभयो ।

डा. भुसालले यस समझदारीबाट नेपाली स्वास्थ्यकार्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने बताउनुभयो ।

यसैगरी, बेलायतका राजदूत निकोला पोलिटले बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीका सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने मन्त्रालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू