Ads

सञ्चार मन्त्रालय : एक वर्षमा सात अर्ब ६० करोड राजस्व सङ्कलन,दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा आठ अर्ब ३८ करोड


काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा सात अर्ब ६० करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्बद्ध निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्नुहुँदै मन्त्रालय र अन्तर्गतका निकायहरुबाट कुल राजस्व सात अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपियाँ सङ्कलन भएको बताउनुभएको हो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरुको आर्थिक वर्ष २०७८/०७९ मा कुल विनियोजित बजेट सात अर्ब ५६ करोड ३७ लाख रुपियाँमध्ये चालुतर्फ पाँच अर्ब ५९ करोड ७६ लाख रुपियाँ विनियोजन भएकोमा ८५.३ प्रतिशत खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ एक अर्ब ९६ करोड ५१ लाख रुपियाँ विनियोजन भएकोमा ६७.२५ प्रतिशत खर्चगरी जम्मा ८०.६१ प्रतिशत खर्च भएको छ ।’’

मन्त्री कार्कीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा आठ अर्ब ३८ करोड रुपियाँ रहेको पनि उल्लेख गर्नुभयो । आ.व. २०७८/०७९ मा कुल बजेटको ८०.६१ प्रतिशत खर्च भएको पनि जानकारी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मन्त्रालय र अन्तर्गतका निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा कुल राजश्व सात अर्ब ६० करोड ७२ लाख ५३ हजार सङ्कलन भएको छ । यसै मन्त्रालय समेतको सहजीकरणका कारण नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा आठ अर्ब ३८ करोड रुपियाँ प्रारम्भिक तथ्याङ्क रहेको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा एक अर्ब २६ करोड बढी हो ।’’

मन्त्री कार्कीले ७३५ स्थानीय तहमा फोरजी सेवा विस्तार भएको र हालसम्म १२ हजार २२४ कि.मि. अप्टिकल फाइबर विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले कुल जनसङ्ख्याको ९१ प्रतिशतमा रेडियो नेपालको पहुँच र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको बताउनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू