काठमाडौं । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) बाट हरेक वर्ष प्रदान गरिने ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ २०७९ बाट डा चण्डीप्रसाद चापागाईँलाई प्रदान गरिने भएको छ । सहभागीमूलक विकास तथा सकारात्मक सोच पद्धति प्रवद्र्धन विषयमा उनले नेपाली तथा अङ्ग्रेजी भाषामा करिब आधा दर्जन पुस्तक प्रकाशन गरेका छन् । डा चापागाईँ विकास व्यवस्थापन विषयका एक अनुभवी प्रशिक्षकसमेत हुनुहुन्छ ।
नेपानको २८औँ वार्षिक साधारणसभाको अवसर पारेर यही भदौ २५ गते काठमाडौंमा उनलाई उक्त पुरस्कार प्रदान गरिने नेपानले जनाएको छ । पुरस्कारको राशि रु १० हजार रहेको छ । विसं २०७४ असोज २४ गते अमेरिकामा स्नातक तहमा अध्ययन गर्दै गरेका आफ्ना सुपुत्र प्रसिद्धको असामयिक निधनपछि उनको स्मृतिमा उनका बाबा–आमा चेतनाथ कणेल तथा सीता भण्डारी कणेलले २०७४ चैतमा नेपानमा रु एक लाखको अक्षयकोष राखी सोही रकमको ब्याजबाट हरेक वर्ष विकास–लेखकहरूलाई सम्मान गर्ने गरिएको छ ।
डा चापागाईँसमेत सो पुरस्कारबाट हालसम्म सम्मानित हुने जम्मा पाँचजना विकास–लेखक छन् । यसअघि सहप्राध्यापक गम्भीरबहादुर हाडा, द्वन्द्वविद् डा विष्णुराज उप्रेती, प्रशासन तथा व्यवस्थापनविद् डा मानबहादुर विश्वकर्मा र कृषि एवं ग्रामीण विकासविद् प्रा डा नरविक्रम थापाले सो पुरस्कार प्राप्त गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्