काठमाडौँ । आखिर नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको चुनाव हुने भएको छ ।
सोमबार भएको चुनावको मतगणना हुँदै कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेका कारण दोस्रो चरणमा चुनाव हुने भएको हो ।
सभापतिमा विजयी हुनका लागि चाहिने ५० प्रतिशत भन्दा बढीको आँकडा पार गर्नका लागि कुनै पनि उम्मेदवारलाई २३ सय ४० मत चाहिने थियो । तर सभापतिको मतगणना सकिँदा वर्तमान सभापति शेरबहादुर देउवाले २२५८ र उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ मत पाए ।
यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ तथा कल्याण्ड गुरुङले २० मत पाएका छन् । देउवालाई ८२ मत अपुग भयो ।
देउवा प्यानलले दोस्रो चरणमा गएमा आफूहरुलाई गाह्रो पर्ने मूल्यांकन गर्दै पहिलो चरणमै जितका लागि प्रयास गर्ने रणनीति बनाएको थियो । तर सो रणनीति अनुसार मत खसेको भने पाइएन ।
दोस्रो चरणमा शेखरको पक्षमा आफूहरु उभिने विमलेन्द्र निधिले चुनाव अघि नै बताएका थिए ।
४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्