Ads

भगवतीले देवताको रक्षा गरेको खुसियालीमा चण्डेश्वरी जात्रा


काभ्रेपलाञ्चोक । यहाँको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षअघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा बर्सेनि चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने गरिन्छ ।

यस वर्ष बनेपामा यही जेठ १० गतेदेखि चण्डेश्वरी जात्रा सुरु हुन्छ । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिन्छ । तीन दिनसम्म मानिने उक्त जात्राका क्रममा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा नेपालीको महान् चाड दसैँजस्तै लाग्ने गर्दछ ।

जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ । बूढापाकाले टोलटोलमा बसी बिहान–बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजागर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध राजचन्द्र श्रेष्ठ बताउछन् । उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् ।

जात्रामा विशेषगरी युवायुवतीको सहभागिता निकै उत्साहमय देखिन्छ । हालका दिनमा जात्रा व्यवस्थापन समिति विशेष स्थानीय जात्रा मानिएको चण्डेश्वरी जात्रा तयारीमा जुटेका छन् । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् ।

पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाट पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि यसको महत्वले अझ व्यापकता पाएकोमा बनेपाली गर्व गर्छन् ।

जात्राअन्तर्गत पहिलो दिन (पूर्णिमाका दिन) बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराइ देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बली दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै बजारको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ ।

रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ । त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताउछन् । उनका अनुसार जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ ।

रथलाई प्राचीन लायकू दरबारसम्म पु-याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ । यस्तै तेस्रो दिन अपराह्न मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु-याएपछि जात्रा सकिने गर्छ ।

बनेपा नगर कार्यालयले बर्सेनि जात्राका लागि आर्थिक सहयोग गर्दै आएको छ । चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइ सरेका पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ ।

धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन पनि रहेको छ । जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिने र तीमध्ये एउटा बोका द्वारे तथा अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलंदान’ (प्रसाद) प्रदान गरिँदै आइन्छ । कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ ।

चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो । धार्मिक कथन एवं किंवदन्तीअनुसार करिब २५ सय वर्ष अगाडिअनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए ।

त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे । स्वर्गका राजालाईसमेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भई ज्यान जोगाउन पन्छीको रुपधारण गरी उक्त वनबाटै अलप भए ।

चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । किंवदन्तीअनुसार चम्कप वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भई चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसियालीमा आराध्यदेवी चण्डेवरी माइको जात्रा मनाइँदै आइएको जनविश्वास छ ।

Ads

सम्बन्धित पोष्टहरू