Ads

प्रदेशसभा बैठकमा मातृ (तामाङ) भाषामा तामाङले राखे आफ्नो भनाई


हेटौँडा । प्रदेशसभा बैठकमा मातृ (तामाङ) भाषामा बागमती प्रदेशसभा सदस्य ज्ञानबहादुर तामाङले आफ्नो भनाई राखेका छन् । प्रदेशसभाको आज बुधबार बसेको बैठकमा उनले प्रदेश सरकारको कामकाजी भाषा ऐन २०८० कार्यान्वयनको काम गर्दै संसद्‌मा तामाङ भाषामा भनाई राखेका हुन् ।

उनले ऐनको सफल कार्यान्वयन गर्न सरकारलाई दबाब दिन तामाङ भाषामा बोल्नु परेको बताएका छन् । तामाङ भाषामा आफ्ना भनाई राख्दै सांसद तामाङले संसद् सहित सरकारी संरचनामा भाषा अनुवादक नियुक्त गर्न माग गरेका छन् ।

‘सरकारी भाषा एक वर्ष अघि पारित गरियो । तर, कार्यान्वयनमा आउन सकेन । त्यसको विरोधको रूपमा म तामाङ भाषामा बोल्दैछु । तपाईंहरुले बुझ्नु भयो या भएन मलाई थाहा भएन । म सत्तापक्षको सांसद भएर नि सरकारको विरोधमा उत्रिएर तामाङ भाषामा बोल्दैछु । ‘पहिचान सहितको सङ्घीयतामा हामीले पारित गरेको कानुन कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छ । ११९ वटा पालिका र वडाहरू तथा सरकारी संरचनामा भाषा अनुवादक नियुक्त गरेर ऐन कार्यान्वयन गर्नुपर्छ, उनले भने ।’

सरकारले नीति तथा कार्यक्रम जनता लक्षित गरेर ल्याउन जरुरी रहेको सांसद तामाङको भनाई रहेको छ । उनका अनुसार हालसम्म प्रदेशमा २१ प्रतिशत मन्त्रीहरू बने पनि तामाङ समुदाय खासै अघि बढ्न नसकेको टिप्पणी गरेका छन् ।प्रदेशको १३ जिल्लामा अधिकांश ठाउँमा तामाङ बस्ती रहेको छ र ती समुदाय आगलागी तथा विपद्को जोखिममा रहेको उनले बताएका छन् । तामाङ नेकपा एमालेका सांसद हुन् ।

Ads

सम्बन्धित पोष्टहरू