अन्तरजातिय प्रेम–अन्तरजातिय बिवाह, विवाहेत्तर प्रेम– विवाहहेत्तर यौन । सन्तान बिहिनता, रक्सि व्यापार, अभिभावक विहिनता, बेपत्ता परदेशी । यि नेपाली समाजले विभिन्न कोणबाट बारम्बार उधिन्दै आएका विषय हुन् । पछिल्ला दशकमा यि विषयमा सघन रुपमा बहस पनि हुँदै आएका छन् । सिर्जनाका विभिन्न माध्यमबाट पनि यि विषयहरु खोतलिएका छन् ।
कसैले कविता लेखे, कसैले गीत बनाए–गाए, कोहिले नाटक बनाए, कतिले उपन्यासमा उतारे, कतिले चलचित्र बनाए । जे होस, यि विषय नउधिनिएका, नखोतलिएका रहस्यका विषय होईनन् ।अन्तरजातिय तथा बिवाहेत्तर प्रेम र यौन कथासार रहेको चलचित्र ‘मनसरा’ अहिले प्रदर्शन भई रहेको छ । यस चलचित्रमा मुख्य कथा बनेर यिनै विषयहरु पोखिएका छन् । तर यस्ता विषयहरु त यस अघिका अनेक चलचित्रमा देखिएका हुन् ।
जातिय र वर्गीय द्वन्द्व, सामाजिक विभेद र असमानताका विरुद्ध विद्रोह छेड्ने खालका अरु पनि चलचित्र बनेका थिए तर ‘मनसरा’ प्रतिको बहस किन ति पुराना कथाहरु भन्दा भिन्न ढंगले भई रहेको छ त ? यस चलचित्रमा के छ र के छैन, जसका कारण स्वतःस्फुर्त रुपमा चलचित्रको व्यवसायीक प्रवद्र्धन समेत हुने गरि कसरी ‘जनप्रचार’ भई रहेको छ ?
नबनाईएको तर बुनिएको कथा
यसमा जुन मुख्य कथा छ, यो बनाईएको कथा होईन । कथा लेखनका अनेक व्याकरणले कथा जेलिएको छैन । नयाँ ‘टुईस्ट’ ल्याउन जबरजस्ति कथाको स्वरुप बिगारिएको छैन । तर पात्रहरुको जीवन, भावना, अभिव्यक्तिको शैली यस्ता विषय बुनिएका छन् । तानतुन–जोडजाड गरिएको कथा होईन, नेपाली समाजका हजारौ परिवारको कथालाई कथानक रुपमा बुनिएको छ । त्यसैले बनि बनाउन विषय र कथा नहुनुले पनि दर्शकलाई चलचित्र बुझ्न सरल बनायो ।
कविता घोलिएको कथा
कवि उपेन्द्र सुव्वा पछिल्लो दशकका ‘सेलिब्रेटी’ कवि हुन् । पूर्वेली लवज र नेपाली छनकका कविताका कयौ टुक्रा जनजिव्रोमा झुण्डिएका छन् । फेरि पछिल्लो समय कवि छान्ने आधुनिक रुवरुपको प्रतियोगीताका निर्णायक भएकाले पनि सञ्चार माध्यमहरुमा उनी छाई रहेका छन् । ति ‘प्लेटफर्म’हरुले पनि उनलाई दर्शक सम्म खवर पु¥याउन सजिलो भयो ।
यो प्राविधिक सहजता भन्दा पनि उनको यो चलचित्रमा कथासँग कविता पनि बगेको छ । एक चम्चा चियारंग मात्र खानु वा एक चम्चा चिनी मात्र खानु भन्दा दुवै घोलिएको चिया धेरैको रोजाई भएसँगै कविता घोलिएको कथाले पनि दर्शकलाई स्वादिलो लाग्यो क्यार । पात्रहरुले ठाउँ ठाउँमा कविता मिसाएर बोल्ने संवाद ट्वाक्क छुने खालका छन् । संवादहरुको लयात्मकता र काव्यिकताले थाहै नपाई सिमलका भुवादार थुंगाले जस्ता कोमल स्पर्श दिएका छन् ।
आञ्चलिकता
‘जारी’ जसरी आञ्चलिकताले भरिएको कथा थियो, उसै गरि मनसरा पनि त्यहि भेग तिर हुर्किएको कथा हो । नेपाली समाजको भौगोलिक, सांस्कृतिक, भाषिक तथा जातिय विविधता भित्र हजारौ कथाहरु छरपस्ट छन् । ति विषयहरु अझै पनि व्यवसायीक चलचित्रको विषय बन्न सकि रहेका छैनन् । केहि सिमित संख्याहरुमा सार्वजनिक भए पनि सवै ‘जारी’ जस्तो गरि व्यवसायीक सफल हुन सकेनन् ।
तर त्यहि ‘जारी’ बाट उत्साहित भएका लेखक÷निर्देशक सुव्वा तथा उनको टीमले उस्तै स्वादमा मनसरा ल्याउने आँट गरे । यसले अरु निर्माता निर्देशकलाई पनि नेपाली समाजका जीवन्त कथा तथा आञ्चलितकताका विषय उधिन्न उत्साही बनाएको पनि हुन सक्छ ।
को हो हिरो ?
आमबुझाईका दृष्टिकोणबाट प्रश्न गर्ने हो भने, यो चलचित्रमा ‘हिरो’ को हो ? हिरो अर्थात नायक । एक तिलस्मि पुरुषलाई चलचित्रमा नायकको रुपमा स्थापित गर्ने क्रम केहि समययता भंग पनि हुँदै आएको छ । तर फिल्ममा को छ हिरो भनेर प्रश्न हुँदै आउनु पनि स्वभाविक हो ।
कतिपयले त आँफैलाई जबरजस्ति हिरो बनाउन–भनाउन पनि करोडौ खर्चिएर चलचित्र बनाउने अभ्यास गरेको पाईन्छ । ‘मनसरा’ मा भन्ने हो भने कोहि हिरो छैन तर सवै हिरो । खासमा भन्ने हो भने यसको कथानै हिरो हो । तर व्यक्तिगत रुपमा हेर्ने हो भने दयाहाङ् राईको फुर्सदिलो अर्थात छोटो अभिनयले प्रविण खतिवडा फक्रिने मौका पाएका छन् ।
यस अघिका विभिन्न चलचित्रमा ‘स्टार’हरुको छायाँमा पर्दै आएका रंगमञ्चका खँदिला कलाकार प्रविण यसमा भने कसैको सेप र ओझेलमा नपर्दा उनलाई यो चम्किने मौका पनि बनेको छ । मूल कुरो के भने, कथा खोज्नु पर्दैन, समाजकै कथालाई कथानक रुपमा चलचित्रमा उतार्न सके समाजले बुझ्न र पचाउन पनि सजिलो हुने रहेछ भन्ने कुरालाई मनसराले फेरी एक पटक स्मरण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्