काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई धम्की नदिन एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।
प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बिहीबार कोइरालाले नागरिक सहकारीमा ठगिएको विषय उठाउँदा कांग्रेसलाई आरोपित नगर्न चेतावनी दिएका हुन् ।
नागरिकले ‘पानी, मकै बेचेर, सानातिना व्यवहार गरेर सहकारीमा जम्मा गरेको पैसा हिनामिना भएको छ । आफ्नो पैसा पाऊँ भन्दै जनता सडकमा आएका हुन्,’ कोइरालाले ओलीतिर संकेत गर्दै भने, ‘तर जनताको आवाज उठाउने कांग्रेसलाई कुनै दलबाट धम्कीको भाषा आएको छ । राजाको धम्कीबाट नडराएको कांग्रेस दल विशेष नेताको धम्कीले डराउँदैन ।’
ओलीले बुधवार संसदीय दलको बैठकमा कांग्रेसलाई संसदमा अरूका कुरा राख्न नदिएर आफ्नो पेवाजस्तो बनाएको भन्दै आपत्ति जनाएका थिए । अब कांग्रेसलाई बोल्नै नदिने चेतावनी समेत ओलीले दिएका थिए ।
आफूहरूले गृहमन्त्री वा कुनै पनि नेतालाई बोल्न नदिएको भन्ने आरोपमा सत्यता नभएको उनको भनाइ छ । तर, कांग्रेसले हजारौं नागरिकहरू पीडित भए भनेर बोल्न नपाउने मानसिकता र अभिव्यक्ति उचित नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्