मोरङ । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उहाँलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ ।
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए । “श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन, उनि जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो”, शमशेरबहादुरकी श्रीमती सीताले भनिन् ।
शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो । दुवै जनाबाट छ सन्तान जन्मिए । “कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ सन्तान हुर्काएँ”, सीताले भनिन् । यसबीचमा परिवारको साथ नपाएपछि उनि माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आएकी छिन् ।
शमशेरबहादुर बोल्न सक्नुहुन्न । उनि घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ । कटुवालको उपचार गराउन सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् ।
बिरामी भएपछि कटुवाल सम्पर्कमा आएका हुन् । धेरै मेहनतपछि उनलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताएका छन् । “कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस्