काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले आर्थिक समस्या बल्झदै जाँदा गम्भीर रुपमा छानबिन गरी भ्रष्टाचारको न्यूनीकरणमा नलागेको आरोप लगाएका छन् । राप्रपा काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिद्वारा धुलिखेलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेषगरी सहकारीमा संलग्नको छानबिन गरी ‘राम्रालाई राम्रो र नराम्रोलाई कारबाहीको दायरामा’ ल्याएको भए अहिलेको अवस्था सिर्जना नहुने बताए ।
“सरकारले आर्थिकरुपमा देशलाई ओरालोतर्फ लगाउनेलाई गम्भीरतापूर्वक हेरेन, अब आर्थिक पक्षलाई सबल नबनाए देश गम्भीर मोडतर्फ जानसक्छ”, अध्यक्ष लिङ्देनले भने । उनले सरकारले भ्रष्टाचारीलाई उम्कन नपाउने मान्यता स्थापित गर्नुपर्नेमा जोड दिए । युवावर्ग विदेशमा अध्ययन वा अन्य बहानामा रगत–पसिना बगाउन जाने लहरले देशको जनशक्ति पलायन भएकामा उनले दुःखेसो पोखे । सरकार जनताको समस्याभन्दा आफ्नो समस्यातर्फ केन्द्रित भइरहेको उनको धारणा थियो ।
अध्यक्ष लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ सशक्त बन्न आग्रह गरे । “मैले अन्तरमनदेखि भनेको कुरा हो, भ्रष्टाचार गरी आफ्नो आमाको रगत खानुसरह हो, मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन, गरे भने मलाई मृत्युदण्ड दिए पनि हुन्छ”, उनले भने ।कार्यक्रममा राप्रपाका सहमहामन्त्री विजय खड्का, केन्द्रीय सदस्यद्वय उदय मुस्याजू र गणेशलाल श्रेष्ठले पार्टीमा नवआगन्तुकलाई शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्