Ads

महाकाली नदीमा पक्की पुल शिलान्यास,पुल बन्ने खबरले स्थानियहरु हर्षित


काठमाडौं । महाकाली नदीमा बन्ने मोटरेवल पक्की पुलको आज शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन् । पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेवल पुलले विकासको ढोका खोल्ने बताए ।

भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए । “व्यापारिक एवं नागरिकलाई सहज आवागमनका लागि पनि पुल आवश्यक थियो”, उनले भने, “अब यहाँका नागरिकले भारत जान गड्डाचौकी र गौरीफन्टा जानुपर्ने अवस्था रहँदैन ।”

मन्त्री बडुले दार्चुलावासीले अब ढुवानीलगायतका समस्याबाट मुक्ति पाउने बताएका छन्। पुलले दुई देशबीच धार्मिक, सामाजिक, सम्बन्ध मजबुत हुने धारणा राखेका छन्। दार्चुलाको महाकाली नदिमा पहिलो पटक पक्की पुल बन्ने खबरले स्थानीय बासिन्दाहरु खुसी भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरेर महाकाली नदीमाथि पुल बन्ने भएको हो उक्त पुलको लम्बाइ एक सय १० मिटर हुनेछ ।पुल बन्नेभएपछि सुदुरपश्चिम प्रदेशका नागरिकहरुलाई  भारतको धार्चुला लगायत सहर जान सहज हुने सरोकारवालाहरुले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू