काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सोमवारको प्रतिनिधिसभा बैठक चलाउनेबाहेक सभामुखसँग अर्को विकल्प नभएको दावी गरेका छन्। उनले संसदलाई सत्ताको भर्याङमात्र नबनाउन पनि प्रमुख प्रतिपक्षी कांग्रेससँग आग्रह गरे।
प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्षी लगायतका दलहरुको अवरोधबिना बैठक सञ्चालन गर्न अन्तिमसम्म प्रयास गरेको बताए। उनले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गरे।
उनले कार्यदलले संसदीय छानबिन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद बैठक रोक्नुपर्ने कारण नभएको बताए।
‘अन्तिमसम्म त प्रयास गर्नुभयो सभामुखले। गर्दा पनि नभएपछि योभन्दा अर्को विकल्प सभामुखसँग थियो भन्ने मलाई लाग्दैन‚’ उनले भने‚ ‘कार्यादेशको सम्बन्धमा कार्यदलले छलफल गरिराखेको छ। यसलाई निष्कर्षमा पुर्याउने भनेर सकारात्मक ढंगले छलफल चलिरहेकाले संसदको सारा कुरा रोक्नुपर्ने कारण के छ? असहिष्णु बन्नुपर्ने कारण के छ?’
उनले संसदभित्रको समस्याहरुलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गरे। उनले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भर्याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गरे।
‘म नेपाली कांग्रेसलाई फेरि पनि आग्रह गर्न चाहन्छु, संसदभित्रका सारा समस्याहरुलाई छलफलबाट समाधान गरौँ। देश र जनतालाई केन्द्रबिन्दुमा राखेर छलफल गरौँ‚’ उनले भने‚ ‘हामीले उठाएका मुद्दाहरु देश र जनताको हितमा हुनुपर्यो। हाम्रो सत्ताको भर्याङ बनाउन, स्वार्थहरु पूरा गर्नका लागि यस्ता मुद्दाहरु कसैले पनि उठाउनु हुँदैन भन्ने दृढताका साथ मेरो आग्रह छ।’
मन्त्री गिरीले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि (मंगलवार) बस्ने पनि बताए।
प्रतिक्रिया दिनुहोस्