Ads

देशका झण्डै आधा क्षेत्रमा बाढीको जोखिम,छैन पूर्वतयारी


देशका झण्डै आधा क्षेत्रमा बाढीको जोखिम रहेको पाईएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालको प्रकोप सम्बन्धी पछिल्लो प्रतिवेदनले बाढीलाई प्रमुख जोखिमयुक्त प्रकोपका रूपमा देखाएको हो। प्रतिवेदन अनुसार ४०.५९ प्रतिशत वडाका बासिन्दाले बाढीको जोखिम रहेको बताएका हुन्।

त्यस्तै, पहिरो दोस्रो प्रमुख जोखिमयुक्त प्रकोपका रूपमा देखिएको छ। देशका ३३.६३ प्रतिशत वडाका बासिन्दा पहिरोको उच्च जोखिममा रहेको सर्वेक्षणबाट फेला परेको छ।

तथ्यांक विभागले २०७८ सालमा राष्ट्रिय जनगणनाका क्रममा देशभरिका वडामा व्यक्तिगत र सामुदायिक रूपमा प्रश्नावली मार्फत प्रकोप जोखिमको तथ्यांक संकलन गरेको थियो। यो तथ्यांकको विश्लेषणपश्चात् प्रकाशित गरिएको ताजा प्रतिवेदनले नेपालमा बाढी र पहिरोको उच्च जोखिम देखिएको हो।

प्रतिवेदनका अनुसार देशभरिका दुई हजार ७३७ वडामा डुबान र दुई हजार २६८ वडामा पहिरोको उच्च जोखिम छ। त्यसैगरी, ३५५ वडामा डुबान र २४८ वडामा हुरीबतासको उच्च जोखिम छ। प्रतिवेदनका अनुसार बाढी, पहिरो, डुबान, हुरीबतास र खडेरी नेपालका प्रमुख पाँच मुख्य प्रकोप हुन्।

कार्यालयको प्रतिवेदनले कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका बासिन्दाले उनीहरूका लागि बाढी मुख्य जोखिम भएको औंल्याएका छन्, जबकि बागमती, गण्डकी र कर्णालीका बासिन्दाले पहिरोलाई उच्च जोखिम मानेका छन्।

सबैभन्दा धेरै नवलपरासीका ८२ प्रतिशत वडाले बाढीको र रसुवाका ८१ प्रतिशत वडाले पहिरोको जोखिम रहेको मानेका छन्।

नेपालमा पछिल्ला वर्षमा प्रकोपको जोखिम बढिरहेको छ। पछिल्ला १२ वर्षमा सबैभन्दा धेरै डढेलोका २३ हजार ३७२ वटा घटना रेकर्ड भएका छन्। त्यस्तै, तीन हजार २७३ वटा पहिरो, दुई हजार ९२७ वटा चट्याङ, एक हजार ९६६ वटा बाढी र एक हजार ९४३ वटा अतिवृष्टिको घटना रेकर्ड भएका छन्।

Ads

सम्बन्धित पोष्टहरू