Ads

अन्तर्राष्ट्रिय कछुवा संरक्षण दिवस मनाइँदै


मोरङ । आज अन्तर्राष्ट्रिय कछुवा संरक्षण दिवस, नेपालमा पनि विभिन्न  कार्यक्रम गरी मनाइँदै छ । संसारमा पाइने करिब तीन सय प्रजातिमध्ये ६१ प्रतिशत कटुवा अति सङ्कटापन्न सूचीमा छन् । पृथ्वीमा कछुवा नभए जलीय र स्थलीय पारिस्थिकीय प्रणाली बिग्रने विज्ञहरूको सुझावसँगै अमेरिकन ‘कछुवा उद्धार’ नामक संस्थाले सन् २००० देखि विश्व कछुवा संरक्षण दिवस मनाउन थालेको हो ।

नेपाल सरकारले आधिकारिक रूपमा कछुवा संरक्षण दिवस मनाउने गरेको नभए पनि सम्बन्धित संस्थाले दुई दशक यतादेखि हरेक अङ्ग्रेजी महिना मे २३ का दिन यो दिवस मनाउँदै आइरहेको प्रा डा कालुराम खम्बु राईले बताए । हाल प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका प्रा डा राईले भने, “नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण हुनबाट जोगाउन कछुवा संरक्षण सबैको दायित्व रहेको हुँदा कछुवा रहेमात्र सिमसार रहनेछ ।”

राईका अनुसार कछुवा संरक्षण सन् १८८५ बाट सुरु भएको हो । सन् १९९२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष र आर्को नेपालबीचको सहकार्यमा चितवनस्थित कछुवा संरक्षण केन्द्र स्थापना भएको उनको भनाइ छ । राज्यले सुरुआती चरणमा कछुवा संरक्षणको प्रयास गरे पनि पछिल्लो समय त्यसलाई निरन्तरता दिन नसकेको डा राईले बताए । कछुवाको संरक्षणको विषयमा आफूले पटकपटक सदनमा समेत कुरा उठाएको उनले भने ।

अन्तर्राष्ट्रिय कछुवा संरक्षण दिवसले कछुवाबारे सचेतना, महत्व दर्शाउन र संरक्षणमा लाग्न  प्रेरित गर्ने प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अघिकारीले बताए । साइटिस सन्धिले कुनै पनि कछुवाको अन्तर्राष्ट्रिय रूपमा ओसारपसार रोकेको अधिकारीले बताए ।

झापाको भद्रपुरस्थित सन् २००० मा वातावरण पर्यावरणीय संस्थाद्वारा कछुवा अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना भएको थियो । पछि त्यसलाई स्थान्तरण गर्दै झापाको सालबारीमा रहेको सहिद स्मृति पार्कस्थित आर्को नेपालको सहयोगमा १० कठ्ठा जमिन क्षेत्रफलमा कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना गरियो । उक्त केन्द्रमा एक सयभन्दा धेरैको सङ्ख्यामा कछुवा रहेको कछुवा अनुसन्धानकर्ता तपिलप्रकाश राई बताउँछन् ।

राईसँगै सविन अधिकारी पनि सालबारीस्थित कछुवा अध्ययन, अनुसन्धान गरिरहेका छन् । तपिलप्रकाश राईसहित अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा भएको अनुसन्धानले मोरङको बेतना सिमसारमा सन् २०२२ मा आर्को नेपालको सहयोगमा नयाँ जातको ब्लक सफ्ट सेल (कालो नरम खवटे) प्रजातिको कछुवा फेला पारेको थियो । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा बेतना सिमसारस्थित दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको हो ।

“बेतना सिमसारमा धेरै अघिदेखि पाउने गरिएको ती कछुवालाई मयुर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि नेपालको लागि नयाँ प्रजातिको कछुवा भन्ने पत्ता लागेको थियो”, प्राणीशास्त्रका उपप्राध्यापक रामचन्द्र अघिकारीले बताए । जसको वैज्ञानिक नाम निलोस्सोनिया निगृकन्स रहेको छ । उक्त अनुसन्धान टोलीका एक सदस्य तपिलप्रकाश राईका अनुसार उक्त कछुवा आइयुसीएनमा अति सङ्कटापन्न प्रजातिको रुपमा सूचीकृत छ । नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मको हुने र बेतना सिमसारमा यो प्रजातिका कछुवा करिब दुई दर्जनको हाराहारीमा रहेको अनुसन्धान टोलीका सदस्य तपिलप्रकाश राईले जानकारी दिए ।

भारत र बङ्गलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयुर प्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ तर फरक प्रजातिको रहेको राईले बताए । ठूला प्रजातिहरूको संरक्षणमा सरकारले चासो देखाए पनि कछुवाका लागि भने ध्यान नदिएको अनुसन्धानकर्ताहरु बताउँछन् । सरकारीस्तरबाटै यो प्रजाति संरक्षणका लागि चासो हुनुपर्ने उनिहरूको माग छ ।

सर्वाहारी (अनिभर्स)यो कछुवा आइयुसीएन रेड लिस्टमा इन्डेन्जर्ड सूचीमा छ । अर्थात् यो प्रजातिको कछुवा र बाघ दुवै एउटै सूचीमा छन् । बाघको संरक्षणमा जति महत्व छ, यो कछुवा संरक्षणमा पनि त्यति नै महत्व छ । “ठूलो टाउकोे पिठ्यु (खबटा)मा बुट्टा जस्तो देखिने ठ्याक्कै, मयुरको प्वाँखको बीच भागको आँखाजस्तो देखिने बुट्टा बाहिरी अवारण हेर्दै चिनिन्छ”, स्थानीय बेलबारी–४ का वसन्त नेपालले बताए ।

नेपालमा पाइने मयुर प्वाँखे कछुवा अन्य प्रजातिभन्दा केही ठूलो हुन्छ । रातको समयमा सक्रिय हुने यो प्रजातिले शङ्खेकीरा, माछा, गड्यौलालगायतका स–साना प्रजाति खान्छ । एकपटकमा २० देखि ३० वटासम्म फुल पार्छ । अगस्ट र नोभेम्बरमा फुल पार्ने र जुनदेखि जुलाइमा कोरल्छ । दलदलमा बस्ने यो कछुवाले माटोमुनि नै बस्न रुचाउँछ । भालेभन्दा पोथी केही ठूलो हुने यो प्रजातिको कछुवा नेपालमा अधिक चोरी सिकार हुने प्रजातिभित्र पर्छ । यो प्रजातिबारेमा अध्ययन, अनुसन्धान कम हुँदा यसको अवस्थाबारे थाहा हुन छाडेको छ ।

विसं २०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको एक विवरणमा उक्त प्रजातिको कछुवा सुनसरी, चितवन र बर्दियामा पाइन्छ । आज अन्तर्राष्ट्रिय कछुवा संरक्षण दिवसका अवसरमा सुखानी सहिद स्मृति उद्यान कछुवा तथा संरक्षण केन्द्र झापा र बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह बेलबारी मोरङको संयुक्त आयोजनामा कछुवा संरक्षणसम्बन्धी कार्यक्रम हुँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू