Ads

गतिरोध प्रति राष्ट्रपतिको चासो, प्रमद्वारा भेटवार्ता


काठमाडौ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए । राजनीतिक गतिरोधकै कारण जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा अहिलेसम्म छलफल हुन सकेको छैन । यो नीति तथा कार्यक्रम पारित भएपछि यसैको आधारमा तयार पारिएको सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुने हो ।

प्रतिनिधी सभाको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने र त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने र पारित हुनेछ ।

गृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलन गरेको भन्ने बारेमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशमा सहमतिका लागि गठित कार्यदलको बैठकमा सहमति हुन नसक्दा संसद अवरुद्ध भइरहेको छ । यिनै पछिल्ला घटनाक्रमहरुका बारेमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू