म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ । आमा समूहलाई परिचालन गरेर महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राससलाई बताए ।
समुदायमा सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत–साधन उपयोग गरी आयआर्जनका काममा संलग्न गराउनु कार्यक्रमको उद्देश्य भएको उनले बताए । उनले भने “ यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु। २० लाख विनियोजन भएको छ । कार्यक्रम वडा–२ र १० मा लागू भएको छ ।”
दुईवर्षअघि कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । वडा नम्बर २ मा केराको थामबाट धागो र स्थानीय तितेपाति प्रयोग गरेर साबुन बनाउने तालिम शनिबार देखि सुरु भएको छ । चौध वटा आमा समूहका ५० जना सहभागी तालिम एक सातासम्म सञ्चालन हुने वडा अध्यक्ष यामबहादुर कार्कीले बताए । तालिममा सहभागिलाई व्यवसाय गर्न कच्चा पदार्थ र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी प्रतिमा शर्माले बताए।
गत वर्ष नगरपालिका –३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले कुखुरापालन गरेका थिए । वडा नम्बर ९ को गलेश्वर आमा समूहमा आबद्ध २० जना महिलाले चप्पल बनाउने सिप सिकेर व्यवसाय सञ्चालन गरेका थिए । नेप्टेचौरमा ढालमोठ, नमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो । यसैबीच, वडा नम्बर १० पात्लेखेतमा एकमहिने वाद्यवादन तालिम सञ्चालन भएको छ । तालिममा २० जना सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्