काठमाडौं, उर्जा व्यापारका क्षेत्रमा सरकारले नयाँ घोषणा गरेको छ । बंगलादेश विद्युत निर्यातको विषय यस अघि पनि छलफल र बहसको विषय बन्ने गरेको थियो । तर यस पटक भने सरकारले आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्याउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा बङ्गलादेशमा विजुली बेच्ने तयारी रहेको बताएका हुन् ।
उनले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा नौ सय मेगावाट बिजुली थप हुने समेत बताएका छन् । हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता तीन सय ८० किलोवाट रहेकामा आगामी वर्ष त्यसलाई बढाएर चार सय ५० किलोवाट पुर्याउने लक्ष्य रहेको उनले बताए ।
सुक्खायामको माग सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको पनि मन्त्री पुनले बताए । उनले १ हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना आगामी वर्ष निर्माण सुरु गर्ने घोषणा पनि गरे ।
६ सय ३५ मेगावाट क्षमताको दूधकोशी, चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना निर्माण पनि अघि बढाउने लागेको उनले बताए ।
सरकारले वैदेशिक रोजगारीमा रहेका नागरिकको लगानीलाई सुरक्षित गर्ने गरी ७७ दशमलव पाँच मेगावाट क्षमताको घुन्सा खोला र ७० दशमलव तीन मेगावाट क्षमताको सिम्बुआ खोला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने पनि घोषणा गरेको छ ।
ढल्केबर इनरुवा प्रसारण लाइन, बाह्रबिसे खिम्ती लप्सीफेदी चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न गरिने प्रतिबद्धता मन्त्री पुनले जनाए । सेती करिडोर, भेरी करिडोर र बूढीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने लक्ष्य निर्धारण गरेको उनले बताए ।
न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने लक्ष्य बजेटले लिएको छ । इनरुवा पूर्णिया, दोदोधारा बरेली प्रसारण लाइन निर्माणका लागि आवश्यक व्यवस्था गरिएको छ । प्रसारण लाइनको ‘राइट अफ बे’ का लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि जग्गाधनीलाई आयोजना प्रभावित क्षेत्रका सर्वसाधारण सरह नै शेयर प्रदान गरिने व्यवस्था बजेटमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्