Ads

लगातारकोको गर्मीले तराई कष्टकर, विद्यालयहरु विदा हुँदै


काठमाण्डौ –केहि दिन यता तराई क्षेत्रमा अत्याधिक गर्मी हुन थाले पछि जनजीवन समस्यामा परेको छ । गर्मीले बालबालिका, वृद्धवृद्धा तथा बिरामी बढि समस्यामा परेका छन् । अत्याधिक गर्मीकै कारण विभिन्न ठाउँका विद्यालयहरु समेत विदा गरिन थालेका छन् ।
पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ ।

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिए । गएको वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

यस्तै नेपालगञ्जमा हिजो यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगञ्जकी इञ्जार्च मीना शिवाकोटीले नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको र यो वर्ष गर्मी शुरु भएयताकै सबैभन्दा धेरै भएको जनाईन् ।

आज र भोलि अझै गर्मी बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । गर्मी बढिरहँदा नेपालगञ्जमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् ।

विद्यालय विदा
अत्यधिक गर्मी बढेपछि विद्यार्थीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा परेपछि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र पर्ने विद्यालय पाँच दिनका लागि बन्द गरेको छ।

जनकपुरधाम उपमहानगरपालिकाले बुधवार सूचना जारी गर्दै जेठ १७ गते बिहीवारदेखि २१ सोमवारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले बताए।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले दिनदिनै बढिरहेको अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मद्देनजर गर्दै पाँच दिन नगरभित्रका सबै विद्यालयमा बिदा दिइएको जानकारी दिए।

 

 

Ads

सम्बन्धित पोष्टहरू