Ads

नेपाल–भारत अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु


चितवन । पोल्ट्री क्षेत्रमा भएका नवीनतम वैज्ञानिक प्रविधिको प्रदर्शनीसहित नेपाल–भारत ‘अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी’ आजदेखि यहाँ सुरु भएको छ । नेपालको पोल्ट्री क्षेत्रलाई थप चलायमान बनाउन प्रदर्शनी आयोजना गरिएको हो ।

चितवन उद्योग सङ्घको प्रदर्शनीस्थलमा आयोजित प्रदर्शनीको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरे । सो अवसरमा उनले पोल्ट्री क्षेत्रको विकासका लागि प्रदर्शनी फलदायी हुने बताए । विश्वका विभिन्न देशमा गएर लिनुपर्ने ज्ञान स्वदेशमै पाउनु कुखुरापालक किसानका लागि ठूलो उपलब्ध भएको उनले बताए ।महानगर प्रमुख दाहालले भने, “पूर्वाधारको विकासमा फड्को मारेको भरतपुरले अब उत्पादनका क्षेत्रमा विशेष योजना अघि सार्नेछ ।”  पोल्ट्रीको राजधानी चितवन हुने भन्दै उहाँले अबको महानगरको कार्यक्रम कृषि र पोल्ट्रीमा केन्द्रित हुने जानकारी दिए ।

भरतपुर महानगरले आगामी आर्थिक वर्ष २०८१/८२ मा ल्याउने नीति तथा कार्यक्रमको प्रमुख विषय कृषि र पोल्ट्रीको उत्पादन क्षेत्र हुने उनको भनाइ छ । अहिले भइरहेको प्रदर्शनीले ‘भरतपुर भ्रमण वर्ष २०२४’ लाई सहयोग पुर्‍याउने उनले बताए ।पोल्ट्री महासङ्घका अध्यक्ष  गुणचन्द्र विष्टले प्रदर्शनीले नेपालको कुखुराजन्य वस्तुको उत्पादनमा उपलब्धि हासिल हुने बताए । उनले प्रदर्शनीमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने औषधि, दाना, चल्ला, खोर, फार्मलगायत उपकरणसहित किसानलाई शिक्षा दिने जानकारी दिए ।

भारतीय पोल्ट्री इक्युप्मेन्ट एसोसिएसनका प्रतिनिधि उदय सिंहले नेपालमा आयोजना गरिएको यो प्रदर्शनीबाट यहाँका कुखुरापालक कृषक र व्यवसाय गर्न चाहने प्रत्यक्ष लाभान्वित हुने बताए ।नेपाल पोल्ट्री महासङ्घ र इन्डिया पोल्ट्री इक्युमेन्ट एसोसिएसनको आयोजनामा भएको  प्रर्दशनीमा एक सय ५० स्टल रहेका छन् । प्रदर्शनीकै अवसरमा पोल्ट्री क्षेत्रमा आयातित नवीनतम प्रविधिका बारेमा किसानलाई जानकारी गराउन विभिन्न गोष्ठी तथा कृषक पाठशाला सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदर्शनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियम, नेदरल्याण्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायत देशका कुखुरासँग सम्बन्धित कम्पनी तथा विज्ञहरुको सहभागिता रहेको जानकारी दिए । यही जेठ २० गतेसम्म सञ्चालन हुने प्रदर्शनीले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू