Ads

बालेनलाई एमालेको चेतावनी- आफू काठमाडौं महानगरको प्रमुख हुँ भन्ने नभुल्नू


काठमाडाैं । सत्तारुढ नेकपा एमालेले झापाको गिरिबन्धु टी–स्टेटको जग्गामा १० हजार करोड भ्रष्टाचार गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोपप्रति आपत्ति जनाएको छ ।

बालेनले संयमता गुमाउँदै गएको र आशा गरेका युवालाई धोका दिन उद्धत रहेको एमालेको आरोप छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सचिव योगेश भट्टराईले अध्यक्ष ओलीमाथि बालेनले लगाएको आरोप असहिष्णुता भएको बताएका हुन् ।

‘काठमाडौं महानगर र सडक विभागको विवादको दोष एमाले र अध्यक्ष ओलीलाई लगाउनुभयो । निर्वाचित भएलगत्तै ओलीले बालेनलाई तबेला दिनुभएको थियो । किन ड्रम बजाउन दिनुभएन, तबेलाको धुनअनुसार काम गर्नुस् भन्नका लागि हो, तबेला भनेको संयमता हो । बालेनले संयमता गुमाउँदै जानुभएको छ,’ भट्टराईले भने ।

बालेनको विरोध गर्दा उनको साइबर सेनाले हमला गर्छ भन्ने थाहा हुँदाहुँदै पनि आफूहरूले गलत कुरालाई विरोध गर्ने उनले बताए ।

‘काठमाडौं महानगर देशको राजधानी शहर हो, नेपालको सभ्यताको प्रतीक हो । त्यहीँको मेयरले सभ्यतामाथि धावा बोल्दैछ । प्रमुखजीलाई सहयोग गर्न हामी तयार छौं, तर उत्तेजनाका कुरा गरेर युवाको सपनालाई धोका दिँदै हुनुहुन्छ,’ भट्टराईले भने, ‘नेता जेल बसेको कुरालाई मजाकमा उडाउनुभयो । आफ्नै इतिहास र संस्कृतिप्रति मजाक भयो । हरेक व्यक्तिका सीमा र अधिकार छन् । यो व्यवस्था ल्याउन मरिमेटेको नेतालाई गालीगलौज गर्नु, आकाशतिर थुकेजस्तो हो ।’

उपमेयरसहित वडाध्यक्षलाई बालेनसँग मिलेर सहकार्य गर्न एमालेले निर्देशन दिएको स्मरण गर्दै उनले बालेनले अन्यत्रको रिस (अध्यक्षमाथि)पोखिरहेको टिप्पणी गरे ।

‘तपाईंको आलोचना गरेबापत साइबर ग्याङले हमला गर्लान्, तर साइबर ग्याङले राजनीतिलाई थाम्न सक्दैन, राजनीतिलाई दिगो बनाउन सक्दैन । काठमाडौंको जनप्रतिनिधिलाई सहयोग गर्न चाहन्छौं,’ उनले भने, ‘तर उहाँ आज कहाँको रिस ल्याएर एमाले र अध्यक्ष (ओली)माथि पोख्दै हुनुहुन्छ ।’

Ads

सम्बन्धित पोष्टहरू