Ads

मध्यपुरथिमिमा शनिबारदेखि दोस्रो ‘वः’ महोत्सव हुने


भक्तपुर । मध्यपुरथिमिमा पर्यटन प्रवर्द्धनका साथै नेवारी परिकारको संरक्षण गर्ने उद्देश्यले दोस्रो वः (बारा) महोत्सव आयोजना हुने भएको छ । मध्यपुरथिमि नगदेशमा शानिबारदेखि आयोजना हुने उक्त महोत्सव तथा ग्रीन एग्रो एक्स्पो–२०२४ को सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

मध्यपुर पर्यटन विकास समितिले आयोजना गर्ने महोत्सव तथा एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष रमेश प्रजापतिले बताए । नेवार समुदायका विभिन्न परिकार र खानाको स्वाद, ग्रीन भेजिटेबल प्रदर्शन एवं विभिन्न खानाका बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिनुका साथै मध्यपुरथिमिमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको उनले जानकारी दिए ।

मध्यपुरका विभिन्न पर्यटकीय कला–संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार, बस्ती र स्मारक क्षेत्र पर्यटकलाई घुमाउने, महोत्सवमा १० प्रकारका वः को प्रदर्शनी एवं बिक्री गरिने, अन्य विभिन्न नेवारी परिकार र हरिया तरकारी, कोरियन तरकारीको प्रदर्शन गरिने, गाँजरलगायत विभिन्न तरकारीबाट उत्पादित वाइनका साथै स्थानीयस्तरमा उत्पादित सामग्रीसहितका ५० भन्दा बढी ‘स्टल’ राखिने अध्यक्ष प्रजापतिले पत्रकार सम्मेलनमा जानकारी दिए।

महोत्वसका लागि मध्यपुरथिमि नगरपालिकाको रु छ लाख र आयोजकको लागत सहभागिता एवं विभिन्न निकायको रु दुई लाख गरी रु आठ लाख खर्च हुने अनुमान गरिएको समितिका उपाध्यक्ष कविदास श्रेष्ठले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू