Ads

‘मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाऔँ’


काठमाडौँ । विभिन्न राजनीतिक दलका विपद्सम्बन्धी विभागका प्रमुख तथा प्रतिनिधिले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् ।गृह मन्त्रालयले आज आयोजना गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँगको अन्तरक्रिया’ मा सहभागी दलका नेताहरुले विगतका विपद्का घटनाबाट पाठ सिक्दै पूर्वतयारी र प्रतिकार्य अघि बढाउन सुझाव दिएका हुन् ।

विपद्का घटनामा सरकारसँग सहकार्य गर्न आफ्ना पार्टीका जनसङ्गठन तम्तयार अवस्थामा रहेकाले सरकार, राजनीतिक दल र स्थानीय नागरिकको सामूहिक प्रत्यत्नबाट मात्रै विपद्का घटना न्यूनीकरण र प्रतिकार्य प्रभावकारी बनाउन सकिने धारणा उनीहरुले राखेका हुन् । विपद्को अवस्थामा राजनीतिक दलले सरकारलाई स्वयम्सेवी जनशक्ति उपलब्ध गराउने र त्यस्ता जनशक्तिलाई सरकारको संयोजनमा प्रभावित क्षेत्रमा खटाउन उपयुक्त हुने सहभागीको सुझाव थियो ।

दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडा तहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै तल्लोस्तरसम्म संरचना भएका दलहरुलाई परिचालन गर्न ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिए ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का नेता एवं विपद् जानकार डा गङ्गालाल तुलाधरले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले विपद्को अवस्थामा राजनीतिक पार्टीको सक्रिय सहभागिताको अपेक्षा गरेको जानकारी गराउँदै विपद् पूर्वतयारी र प्रतिकार्यमा खट्नु दलहरुको कर्तव्य भएको बताए ।

उक्त ऐनको दफा २० को ९ठ० र ९ड० मा विपद् जोखिम न्यूनीकरण शिक्षा अभियान सञ्चालन गरी पूर्वतयारीमा सहयोग पु(याउने तथा राष्ट्रिय विपत्तिको समयमा खोज, उद्धार, सहयोग, पुनःस्थापनालगायत अन्य आवश्यक सहयोग गर्ने उल्लेख छ ।

नेता तुलाधरले सबै राजनीतिक दलले केन्द्रीय तहमा विपद् विभाग बनाएर अघि बढ्नुपर्ने तथा विपद्का समयमा सबै संरचनालाई प्रतिकार्यमा खटाउनुपर्ने बताउनुभयो । उहाँले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरु एकजुट हुनुपर्ने र परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनु पर्नेमा जोड दिए।

“विपद्मा दलहरुको भूमिकाका बारेमा गृह मन्त्रालयले ‘कार्यढाँचा’ बनाउनु उपयुक्त हुन्छ”, उनले भने, “राजनीतिक दललाई अभिमुखीकरण गर्नुपर्छ ।” उनले आफ्नो पार्टीले विपद्को पूर्वतयारी र प्रतिकार्यमा सबै राजनीतिक दलसँग समन्वय गरेर खट्न निर्देशन दिइसकेको जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का विपद् व्यवस्थापन तथा स्वयम् सेवक विभाग प्रमुख किरण पौडेलले राजनीतिक दलभित्र सबैभन्दा पछाडि रहेको विपद्सम्बन्धी विभागको भूमिका अब परिवर्तन गरेर अघि बढ्ने प्रयास गरिएको बताए । “अब विगतजस्तो अवस्था रहेन, एमालेले पार्टीको केन्द्रसँगै प्रदेश, जिल्ला र पालिका तहमा पनि विपद् विभाग गठनको तयारी गरेको छ”, उनले भने ।

एमालेले पार्टीको तल्लो कमिटीका प्रतिनिधिको सहभागितामा राष्ट्रिय विपद् व्यवस्थापन तथा स्वयम् सेवा मेला आयोजना गर्न लागेको जानकारी दिँदै उनले विपद्को पूर्वतयारी र प्रतिकार्यमा राज्यसँग हातेमालो गरी अघि बढिने प्रतिबद्धता व्यक्त गरे। “राजनीतिक दलले मानवीय जनशक्ति उपलब्ध गराउने हो”, नेता पौडेलले भने, “तर राज्यले पर्याप्त साधनस्रोत उपलब्ध गराउनुपर्छ, दलका जनशक्ति र सरकारको स्रोतसाधनलाई संयोजन गर्न सक्दा प्रतिकार्य प्रभावकारी हुन्छ ।”

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विपद्मा राजनीतिक दलका नेता तथा कार्यकर्ताले व्यवस्थित ढङ्गबाट काम गर्दा पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे । उनले विपद्बाट नागरिकको जीउधनको तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व सबैको भएको उल्लेख गर्दै विपद्का समयमा खटिइने जनशक्तिलाई प्रोत्साहनस्वरुप बीमा र भत्तालगायत सुविधा व्यवस्थापन गर्न सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का विपद् व्यवस्थापन विभाग इन्चार्ज सूर्य सुवेदीले विपद्का समयमा सरकारका संयन्त्र र राजनीतिक दलको सङ्गठनबीच समन्वय हुँदा प्रभावकारी काम गर्न सकिने बताए । “सबै राजनीतिक दलका विपद् सम्बन्धी काम गर्ने विभागको प्रतिनिधि सम्मिलित ‘डेस्क’ बनाऔँ, यसलाई पालिका तहसम्म लैजाऔँ”, उनले भने।

जनमत पार्टीका नेता अब्दुल खानले विपद्का अवस्थामा खट्न आफ्नो पार्टीमा समाज कल्याण विभाग क्रियाशील रहेको र नागरिकलाई अप्ठ्यारो परेको अवस्थामा पार्टीबाट नेता कार्यकर्तालाई खटाइने बताए । उनले दीर्घकालीन रुपमा जोखिम न्यूनीकरण र प्रतिकार्यमा जुट्न राजनीतिक दलको सामूहिक प्रतिबद्धताको खाँचो औँल्याए ।

छलफलमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता रामप्रकाश चौधरी, जनता समाजवादी पार्टी नेपालका नेता परशुराम बस्नेत, राप्रपाका नेता ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका नेता नारायण महर्जन, नागरिक उन्मुक्ति पार्टीका नेता राजन गुरुङ र आम जनता पार्टीका कार्यालय सचिव रञ्जुकुमारी साहले विपद् पूर्वतयारी र प्रतिकार्यमा आआफ्नो पार्टीबाट सक्रिय सहभागिताका लागि निर्देशन गरिने प्रतिबद्धता व्यक्त गरे ।

विपद् व्यवस्थापनमा दलको प्रभावकारी भूमिकाको अपेक्षा

छलफलमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले राजनीतिक तथा प्राकृतिक सङ्कटमा एकजुट हुने नेपालका दलको अभ्यास सकारात्मक रहेको बताए । उनले जनसेवाको उद्देश्य, तल्लो तहसम्मको संयन्त्र र स्वयं सेवक परिचालनको अनुभवका आधारमा विपद् व्यवस्थापनमा दलको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

दलका प्रतिनिधिले ‘लुज फोरम’ बनाउन दिएको सुझाव मनन् गर्दै उपप्रधानमन्त्री लामिछानेले तीनै तहको सरकारबीच समन्वय गराउन ‘लुज फोरम’ प्रभावकारी हुने बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् ‘पोर्टल’बाट चौबिसै घन्टा बाढी, पहिरो, चट्याङसम्बन्धी घटनाको जानकारी प्रवाह गरिएको तथा विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू