Ads

जनताको हितमा काम गर्नेलाई एमालेले समर्थन गर्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल


केदार बस्नेत,काठमाडौं ।नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रो जसले गरेपनि एमालेले समर्थन गर्ने बताएका छन् ।

काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले बुधवार आज लाजिम्पाटमा आयोजना गरेको बडा दसैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै  उपाध्यक्ष पोखरेलले  राम्रो काम गर्नेको पक्षमा एमाले उभिने स्पष्ट पारेका छन् ।

‘राम्रो काम जसले गरे पनि एमालेले समर्थन गर्छ ।राम्रो कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रो काम जोसुकैले गरुन्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा राम्रो नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ पूर्वउपप्रधानमन्त्री समेत रहेएका पोखरेलले भने ‘अहिले विभिन्न साथीहरू विभिन्न रूपले प्रकट भएका छन् । तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन । एउटा दल खराब भए फेरी अर्को दल आउँछ ।’

एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको पोखरेलले आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ पोखरेलले भने– ‘हामीसँग दुई वटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन । तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामर्थ्य हाम्रो हुनुपर्छ ।’

जनताको भावना अनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन पोखरेलले जनप्रतिनिधिहरूलाई आग्रह गरे । आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा एमालेले विजयी हासिल गर्ने उनको भनाई थियो।

Ads

सम्बन्धित पोष्टहरू