Ads

क्षेत्रफल घट्यो, उत्पादन बढ्यो


झापा, झापामा खेतीयोग्य जमिन घटेपनि उत्पादकत्व बढ्दै गएको छ । किसानले समयमा मलखाद, बीउ तथा सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुँदा उत्पादनमा वृद्धि भएको हो ।

सरकारले अनुदानमा विद्युत् मोटर प्रदान गरेपछि समयमा खेती गरिँदा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । जिल्लामा १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा चैतेधान हुँदै आएको छ ।

आर्थिक वर्ष २०७८र७९ मा एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएकामा आव २०७९,८० मा चार लाख ३६ हजार चार सय ६७ दशमलव पाँच मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनका अनुसार बर्खेधान ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।

जिल्लामा उत्पादन हुने बालीमध्ये धान र मकै प्रमुख रहेका विष्टले जनाए। सङ्घीय सरकारको सहयोगमा कचनकवल गाउँपालिकामा ‘धान सुपरजोन कार्यक्रम’सञ्चालन गरिएसँगै उत्पादनमा वृद्धि हुँदै गएको उनको भनाइ छ ।

एक लाख ६० हजार छ सय हेक्टर क्षेत्रफलमा फैलिएको जिल्लामा कृषिमा आधारित खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख विष्टका अनुसार करिब ५० दशमलव ५३ प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ । थप सिँचाइ उपलब्ध गराउने उद्देश्यले सङ्घीय र प्रदेश सरकारले ‘बोरिङ’ तथा स्यालो ट्युबेल खरिदमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू